सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्वार्ता

‘हिन्दू राष्ट्र र राजसंस्था राप्रपाको मात्रै मुद्दा रहेन, सबैको साझा भइसक्यो’

यो राप्रपाको मात्रै नभएर देशभक्त नागरिकहरुको साझा कार्यक्रम भएकाले राजावादीमात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी काँग्रेस लगायतका अन्य दलमा आवद्ध साथीहरुको पनि समर्थन रहेको छ ।

हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै देशभर प्रदर्शन तथा र्‍यालीहरु भइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले यसको नेतृत्व गरिरहेको छ । देशभर प्रदर्शन तथा र्‍यालीहरु भइरहँदा नेपालगन्जमा पनि यसको तयारी तीव्र बनाइएको छ । नेपालगन्जमा भोली मंसीर १३ गते शनिबारका दिन प्रदर्शनसहितको र्‍याली आयोजना गरिएको छ । नेपालगन्जमा भोली हुने प्रदर्शनको तयारी र यसले दिने सन्देशका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ऋषिराज देवकोटासँग सत्यपाटी डटकमले गरेको संक्षिप्त कुराकानी :

भोलीको तयारी र यसको मोडालिटी के हो ? कार्यक्रममा कति नागरिक सहभागी हुन्छन् ?

– भोलीको कार्यक्रमको तयारी तीव्ररुपमा भइरहेको छ । कार्यक्रम सफल बनाउन करिब २०० जना स्वयंसेवकहरु परिचालन गरेका छौं । हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्थावान्, हिन्दूवादी समूहहरु, शुभेच्छुक र अन्य राजनीतिक दलमा आवद्ध सबैको सहभागिता हुन्छ । अझ पछिल्लो समयमा हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्था राख्ने युवाहरुको जमात बढ्दो क्रममा रहेको छ । यसले पनि हाम्रो कार्यक्रममा युवाहरुको ठूलो उपस्थिति रहनेछ । हामीले यो कार्यक्रममा १० हजार बढी नागरिकहरुको सहभागिता रहने अपेक्षा गरेका छौं ।

कार्यक्रमलाई शान्तिपूर्णरुपमा भव्य स सभ्य तरिकाले सम्पन्न गर्नका लागि हाम्रा सबै तयारीहरु भइरहेका छन् । बागेश्वरी मन्दिर पार्कबाट सुरु हुने शान्तिपूर्ण प्रदर्शनसहितको र्‍याली सुतेविक चोक, पुष्पलाल चोक, विरेन्द्र चोक, विपी चोक, गणेशमान चोक, चारबाहिनी, भेरी अस्पताल चोक, त्रिभूवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै विरेन्द्र चोकमा पुगेर समापन हुनेछ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीका कारण हामीले अहिलेसम्म कुनै कार्यक्रम पनि गरेका छैनौं । त्यसकारण यो अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पूर्णपालना गरेर हामी प्रदर्शनमा सहभागी हुन्छौं ।

राजसंस्थाका पक्षमा सडकमा प्रदर्शन हुनुको सन्देश के हो ? अहिलेको व्यवस्था फेल भएरै राजतन्त्रलाई आशावादी बनाउन खोज्नुभएको हो ?

– हाम्रो पार्टीको विधानमै हिन्दू राष्ट्र र राजसंस्था छ । पार्टीको जन्म नै हिन्दू राष्ट्र र राजसंस्थाबाट भएको हो । अहिले यो आम नेपालीको साझा एजेण्डा बनिसक्यो । होला अन्य पार्टीमा आस्था भएका वा फरक विचार भएका साथीहरुलाई हिन्दू राष्ट्र र राजसंस्थाका विषयमा खुल्न सकस हुनसक्छ । तर, अहिलेको राजनीतिक अवस्थाका कारण अन्य पार्टीप्रति विचार राख्ने लाखौं व्यक्तिहरु हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्थावान हुनुहुन्छ । अहिले आम नागरिकहरु हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दामा सामेल भइसक्नु भएको छ । हाम्रो भोलीको कार्यक्रमले पनि यो अवस्थालाई दर्शाउनेछ । हिन्दू राष्ट्र र राजसंस्था सबैको साझा मुद्दाका रुपमा आइसकेपछि उहाँहरु पनि आफ्ना विचार र सिद्दान्तलाई थाँती राखेर हाम्रा कार्यक्रमहरुमा सहभागी हुनुले पनि हिन्दू राष्ट्र र राजसंस्था अबको आवश्यकता र अपरिहार्यता हो भन्ने सन्देश जानेछ ।

मुलुक हिन्दु राष्ट्र नहुँदा राष्ट्रको स्वाभिमान र सम्मानको अवमूल्यन भइरहेको अनुभव आम जनता, वुद्धिजीवी र राजनीतिक क्षेत्रले गरिरहेका छन् । नेपालीहरुको आत्मसम्मानमाथि बारम्बार प्रहार भइरहेको छ । हिन्दु राष्ट्र चाहिन्छ भन्ने आवाज बाक्लो र संगठित हुँदै पनि गइरहेको छ । यो कसैको निजी आग्रह वा स्वार्थरक्षाको सवाल होइन, राष्ट्रिय पहिचान, हित र सुरक्षाको सवाल हो भन्ने पनि प्रष्ट भइसकेको छ । त्यसैले पनि भोलीको कार्यक्रममा विचार र सिद्धान्तप्रति आस्थावान संघ संगठन, विश्व हिन्दू महासंघ, शिव सेना लगायतको पनि साथ र समर्थन रहेको छ । कार्यक्रम व्यवस्थापनका लागि बृजेशबहादुर सिंह, राजकुमार रौनियार र हुकुम केसीलाई संयोजक तोकिएको छ । उहाँहरुकै व्यवस्थापनमा कार्यक्रम सम्पन्न हुनेछ ।

यद्यपी हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्था राख्ने र अपरिहार्यता महसुस गर्ने सबै नागरिकहरु यस कार्यक्रमको आयोजक भएकाले पनि हिन्दू राष्ट्र र राजसंस्था अबको आवश्यकता हो भन्ने सन्देश जानेछ । अन्य दलका जिम्मेवार साथीहरुले पनि हाम्रो कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । धेरै साथीहरु कार्यक्रममै सहभागी हुनुहुनेछ । उहाँहरु हाम्रो कार्यक्रममा सहभागिता जनाउनका लागि सम्पर्कमा हुनुहुन्छ । आफ्नो विचार र सिद्दान्तलाई थाती राखेर एक दिनका लागि भए पनि राष्ट्रिय झण्डामूनि गोलबन्द भएर हिन्दू राष्ट्र र राजसंस्थाप्रति ऐक्यवद्धता जनाउनका लागि सबै दलका युवा, व्यवसायी, शिक्षक, वुद्धिजिवी, मजदुर लगायत सम्पूर्ण नागरिकहरुलाई अपील पनि गरेका छौं ।

सडक प्रदर्शन राप्रपाले गरेको हो वा यसमा असंगठीत समूहहरु पनि सहभागी छन् ?

– जनआन्दोलनको झल्को दिने भोलीको प्रदर्शनको तयारी भइरहेको छ । संगठीतरुपमा राप्रपा, विश्व हिन्दू महासंघ र शिव सेनाको मात्रै सहभागिता देखिए पनि यो राप्रपाको मात्रै नभएर देशभक्त नागरिकहरुको साझा कार्यक्रम भएकाले राजावादीमात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी काँग्रेस लगायतका अन्य दलमा आवद्ध साथीहरुको पनि समर्थन रहेको छ । हामीले नेकपा, काँग्रेस लगायत अन्य दलका समर्थकमात्र होइन, कार्यकर्तासमेत कार्यक्रममा सहभागी हुने अपेक्षा गरेका छौं । कार्यक्रममा सोचेभन्दा बढीको सहभागिता रहनेछ । हामीले आह्वान हिन्दूवादी, राजावादी सबैलाई कार्यक्रममा सहभागी हुन आह्वान नै गरेका छौं । यो कार्यक्रम राप्रपाको मात्रै नभएर सबै हिन्दू राष्ट्र चाहने नेपाली जनताको साझा कार्यक्रम हो ।

अहिलेको व्यवस्थाले आम नागरिकमा वितृष्ण फैलाइरहेका बेला हिन्दू राष्ट्र र राजसंस्थाप्रतिको मोह र आवश्यकता खड्किएको छ । ठूला आन्दोलनहरु नागरिक स्तरबाटै सुरु भएका छन् । भोलीको कार्यक्रम पनि नागरिकस्तरकै राष्ट्रव्यापि आन्दोलनको तयारीका रुपमा हुँदैछ । गणतान्त्रिक व्यवस्था फेल भएको र जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढेको पुष्टि भइसकेकाले अबका प्रदर्शनहरु हिन्दू राष्ट्र र राजसंस्थाको पुनस्थापना, संघीयताको खारेजीका दिशातर्फ अघि बढ्नेछन् । कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा हुने भएपछि अन्य पार्टीका साथीहरूको उल्लेख्य सहभागिता हुनेछ । भ्रष्टाचार अनियन्त्रित भयो, देशमा सयौँ राजाभन्दा एउटा राजा ठीक छ भन्ने मनस्थितिमा जनता पुगिसकेका छन् । दलहरूले गरेको गैरजिम्मेवार क्रियाकलाप र भ्रष्टाचारप्रतिको असन्तुष्टि पनि भोलीको कार्यक्रममा देखिनेछ ।

तपाईहरुले भनेजस्तै अहिलेको सडक प्रदर्शनले हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापना होला ?

– राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १४ वर्षसम्म देश र जनताले कुनै उपलब्धि गर्न सकेका छैनन् । यसबारे गम्भीर समिक्षा अब जनताले नै गर्छन् । यो १४ वर्षको अवधिलाई जनताले नै इमानदारितापूर्वक समिक्षा गर्ने बेला भएको छ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज बेला बेलामा किन उठिरहे ? गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याइयो । जसका कारण नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिइरहेको छ । गणतन्त्रले बेथितिमात्रै बढाएको छ । हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य पनि जरुरी छ । मुलुक हिन्दु राष्ट्र, राजसंस्था नहुनु र नरहनुको अर्थ मुलुकको एकता, अखण्डता र अस्तित्वसँग नै गाँसिएको सवाल हो भन्ने कुरा आम नेपाली नागरिकले बुझिसकेका छन् ।

नेपाल धार्मिक द्वन्द्वमा मात्र नभएर धर्मको नाउमा विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको रणनीतिक चलखेलको समेत भूभाग बन्दै गइरहेको र त्यो नेपालको स्वतन्त्रता र प्रभुसत्ताको सङ्कटमा समेत रुपान्तरित हुन जाने आधारहरू स्पष्ट भैसकेका सन्दर्भमा हिन्दु राजासहितको हिन्दु राष्ट्र नेपालको मात्र नभएर हाम्रा दुई विशाल छिमेकीहरूको समेत अपरिहार्य आवश्यकता बनिसकेको छ । भारत र चीन जस्ता दुई विराट फरक सभ्यताका मुलुकहरूबीच वास्तविक असंलग्नताताको अभ्यास कुनै राजनीतिक दललाई प्रतिनिधित्व गरेर राष्ट्र प्रमुखको पदमा पुग्ने व्यक्तिको तुलनामा दलहरूबीचको सत्ता संघर्षको चरित्र र स्तरबाट माथि उठेको राजसंस्थाले नै गर्न सक्दछ । मुलुकको शान्ति, एकता र अखण्डता राजनीतिक दलहरूको अभिष्ठ हो भने, मुलुकको वृहत्तर हितको लागि मात्र नभएर स्वयम् राजनीतिक दलका नेताहरूको सुरक्षाका लागि पनि र उनीहरूका सुरक्षा कवचकोरूपमा राजसंस्था अपरिहार्य भैसकेको छ ।

अहिले मुलुकका राजनीतिक दलका नेताहरू, सरकार र सत्तारूढ दलका नेताहरू आम जनतामाझ जुन हदमा अप्रिय छन्, हिजोका हिंसा र मारकाटमा उनीहरूको भूमिकाका कारण मुलुकभित्र र बाहिर उनीहरूले जुन स्तरको असुरक्षाको अनुभूति गरिरहेका छन् त्यसबाट उनीहरूलाई संरक्षण दिन पनि राजसंस्थाले मात्रै सक्दछ । जीवनभर राजा निकट रहेर, राजाबाट प्रचूर लाभ लिनेहरू रातारात राजसंस्थाविरूद्ध लाग्दा र लागिरहँदा राजाहरू र राजपरिवारसँग कुनै स्वार्थ, सरोकार र सम्वन्ध नभएका र राजाहरूका निरंकुशताविरुद्ध लामो समयसम्म क्रियाशील व्यक्तिहरू निर्धक्क भएर राजसंस्थाको पक्षमा उभिने स्थिति निर्माण हुनुले पनि यसलाई प्रष्ट परेको छ । त्यसैले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना कसैको स्वार्थ, राजा वा राजपरिवारप्रतिको कुनै मोह वा आग्रहका लागि नभएर मुलुक र जनता ढुक्क भएर आफ्नो एकता, अखण्डता, शान्ति र समृद्धिको मार्गमा लाग्ने वातावरण निर्माण हुनेछ । त्यसैले ढिलो चाँडो हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना हुनेमा दुई मत छैन ।

प्रदर्शनमा सहभागी हुनेलाई इन्धन र भत्ताको व्यवस्था गरिएको भन्ने प्रचार सत्य हो ?

– यो गलत व्यक्तिहरुले फिँजाएको तथ्यहिन प्रचार मात्रै हो । हामीले सहभागिका लागि इन्धन र भत्ताको कुनै व्यवस्था गरेकै छैनौं । भ्रम फैलाउनका निम्ति केही गलत मनसाय भएका तत्वहरुले यस्तो कुप्रचार गरेको हुनसक्छ । हामीले कार्यक्रमको व्यवस्थापनका लागि छलफल गर्ने क्रममा सहभागी आस्थावान साथीहरुबाट स्वस्फूर्तरुपमा २० हजार रुपैयाँ जम्मा गरेका छौं । यो सम्पूर्ण कार्यक्रमको व्यवस्थापन त्यही रकमभित्र रहेर हुनेछ । कार्यक्रमका लागि हामीले कोही कसैसँग चन्दा, सहयोग कतै पनि मागेका छैनौं । कसैले इन्धन, भत्ता दिन्छु भनेर कसैलाई आश्वासन दिएको भए त्यो गलत हो । कसैले मागेको भए प्रमाणसहित हामीलाई खबर गर्नुहोला । म यही आग्रह गर्न चाहन्छु ।

अन्त्यमा, भोलीको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन तपाईहरुले कस्तो रणनीति बनाउनु भएको छ र आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?

– हामी शान्तिकामी, हिन्दूवादी, राजावादी हौं । हामी गौतम वुद्ध जन्मिएका देशका नागरिक हौ । हाम्रो पार्टी शान्ति र सद्भावका विचारमै उभिएको छ । हामीले पार्टीका तल्लो तहका कमिटीहरुलाई पनि पार्टीको झण्डा नबोकेर कार्यक्रममा सहभागी हुन निर्देश गरेका छौं । उहाँहरु राष्ट्रिय झण्डा बोकेर कार्यक्रममा सहभागी हुनुहुनेछ । यद्यपी प्रदर्शनका क्रममा भीडभाड हुने भएकाले अराजक गतिविधि हुने कुरालाई हामीले संवेदनशील रुपमा लिएका छौं । त्यस्ता अवान्छित गतिविधि हुन नदिनका लागि स्वयंसेवी युवाहरु परिचालन गरेका छौं । प्रहरी प्रशासनलाई पनि सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरिसकेका छौं । त्यसैले प्रदर्शन शान्तिपूर्ण र सद्भावपूर्ण रुपमा सम्पन्न हुनेछ ।

अन्त्यमा, राष्ट्रियता कमजोर भएको छ । भ्रष्टाचार बढेको छ । देशको हितका लागि हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना अहिलेको आवश्यकता हो । अहिलेको शासन व्यवस्थाबाट नेपाली जनता सन्तुष्ट छैनन् । हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा अब नेपाली जनता उत्रिने बेला भएको छ । हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँ जुटिरहेका छन् । त्यसैले बाँके जिल्लाबासीहरुमा मेरो अनुरोध छ, यो विचार र एजेण्डा राप्रपाले बोकेको भए पनि ९४ प्रतिशत हिन्दू धर्मावलम्बीहरु भएको देशमा हिन्दू राष्ट्रको माग हुनु अहिलेको आवश्यकता हो । त्यसकारण पनि यो आम नागरिकको साझा एजेण्डा भएकाले पार्टीभन्दा माथि उठेर कार्यक्रममा सहभागी हुनका लागि सबैलाई आग्रह र आह्वान गर्दछु ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार १५:४५