सूचनाको शक्ति - The Power Of Information

        

सरकारी बेतिथि

४० लाखको बर्मुडा दुबो सुक्यो, भत्किँदै आठौँ खेलकुदका संरचना

बाँके । मुलुकमै पहिलो पटक नेपालगन्ज रंगशालामा रोपिएको बर्मुडा दुबो सुकेर नष्ट भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भारतको कोलकाताबाट ल्याएर रोपेको दुबो सुकेर नष्ट भएको हो । जसको लागत करिब ४० लाख रुपैयाँ रहेको छ । लुम्बिनी प्रदेश खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए ।

कार्यालय प्रमुख चन्दका अनुसार लकडाउनपछि कुनै प्रतियोगिता हुन नसक्दा दुबो बढ्न नपाई सुकेर नष्ट भएको छ । उनले दुबोमा पटक–पटक सिँचाइ गर्दासमेत नमौलाएको बताए । कार्यालय प्रमुख चन्दले भने, ‘दुबोको संरक्षण गर्न नियमित सिँचाइ हुँदै आए पनि बर्मुडा दुबो सुक्दै गएको छ । अन्य झार उम्रिएर बर्मुडा दुबोलाई जितिसक्यो ।’

सिँचाइ गर्दा पनि बर्मुडा दुबो नपलाएपछि परीक्षणका लागि युरिया मल छर्केर सिँचाइ गरिएको उनले स्पष्ट पारे । दुबो जोगाउन हरसम्भव प्रयास गर्दासमेत कुनै सीप नचलेको उनको भनाइ छ । उनले भने, ‘कृषि ज्ञान केन्द्रका प्राविधिकलाई बोलाएर माटो परीक्षण गर्न लगाउँछौँ, प्राविधिकले दिएको रायसुझाव अनुसार बढ्ने योजनामा छौँ ।’

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले प्रमाणित गरेको बर्मुडा दुबो नेपालका लागि नयाँ प्रयोग भएको हो । दुबो रोप्नकै लागि काभ्रेबाट प्राविधिक ल्याइएको थियो । तर, रोपेको एक वर्ष बित्न नपाउँदै बर्मुडा दुबो सुकेर नष्ट भएको कार्यालय प्रमुख चन्दले बताए । संरक्षण अभावका कारण दुबो सुकेर नष्ट भएपछि राज्यको लाखौँ रुपैँया खेर गएको छ ।

भत्किँदै आठौँ खेलकुदका संरचना

आठौँ राष्ट्रिय खेलकुद प्रतियोतिाका लागि नेपालगन्जमा निर्माण भएका अधिकांश संरचना भत्किन थालेका छन् । पौडी पोखरीको प्यारापिटको प्लाष्टर उप्किएको छ । पौडी पोखरीको वरिपरि लगाएको टायल फुटेर उप्किएको छ । पौडी पोखरीको प्यारापिटमा लगाइएको सिसा पनि फुटेर खसेको छ । भुइँमा खसेको सिसा अहिले पनि उठाइएको छैन ।

निर्माण कम्पनीले कमसल काम गरेकोले पौडी पोखरीको प्यारापिट र पौडीपोखरीको वरिपरि लगाइएको टायल भत्किएको प्रदेश खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्दले बताए । पौडी पोखरीको दक्षिणतर्फ बनाउनुपर्ने स्क्रिन बोर्ड निर्माण पूरा नगरी निर्माण कम्पनीले भुक्तानी लिएको उनले बताए । प्यारापिटको तल लगाइएको सिसा हावा लागेर खसेको छ ।

प्यारापिटको प्लास्टर झरेको छ । पानीको निकास राम्रो नहुँदा प्यारापिटको सिँढीमा पानी चुहिने क्रम रोकिएको छैन । ‘पौडी पोखरीको वरिपरि बिछ्याइएको मार्बल उप्किएका छन्,’ कार्यालय प्रमुख चन्दले भने, ‘मर्मतका लागि निर्माण कम्पनीलाई बोलाएका छौँ । तर, राम्रो रेसपोन्स भएको छैन । यसको जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई पनि गराइसकेका छौँ ।’

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार १४:२५