सूचनाको शक्ति - The Power Of Information

        

प्रज्ञा-प्रतिष्ठानले मङ्सिर २९ गते कविता महोत्सव गर्ने

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ गते गर्ने भएको छ ।

प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड-१९ का  कारण स्थगन गरिएको थियो ।

प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए ।

प्रतिष्ठानले २०२२  सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । यसअघि २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो ।

प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई  ५० हजार, द्धितीयलाई ४० हजार र तृतीय तीन जनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०८:०४