सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

विप्लव समूहको प्रतिरक्षा तयारी, जंगलमा गोप्य सैन्य तालिम सञ्चालन

विकट स्थानमा रहेका प्रहरी चौकी र स्थानीय तह निसानामा, सरकारले प्रतिबन्ध लगाएपछि संयुक्तरुपमा ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै सशस्त्र प्रहरी र नेपाल प्रहरी ।

फाइल तस्वीर

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सैन्य तालिममा संलग्न रहेको खुलेको छ । कोरोना महामारीको मौका छोपेर सो समूहले पूर्व र पश्चिम नेपालका विभिन्न जिल्लाका जंगलमा गोप्य सैनिक तालिम सञ्चालन भइरहेको खुलेको हो ।

सुरक्षा निकायलाई प्राप्त जानकारीअनुसार विप्लव समूहको जनमुक्ति सेनाको गण्डक ब्युरो अन्तरगतको सैन्य तालिम सकिएको छ । एक उच्च सुरक्षा अधिकारीका अनुसार तनहुँको पहाडी क्षेत्र, सोलुखुम्बु, कालीकोट, जुम्ला, जाजरकोटमा सैन्य तालिम सम्पन्न भइसकेको छ भने डोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पामा सैन्य तालिम सञ्चालन गर्ने तयारी छ ।

सत्तारुढ दलको विवाद उत्कर्षमा पुगेको र सरकारको लोकप्रियता खस्किँदै गएको निष्कर्ष निकाल्दै विप्लव समूहले सरकारले दमनको नीति लिएकाले प्रतिरक्षाका लागि तालिम आवश्यक समूहको दाबी छ । विप्लव समूहको सैन्य दस्तामा अधिकांश पूर्वजनमुक्ति सेनाका लडाकुहरु रहेको बताइएको छ । ७ दिनदेखि २० दिनसम्मको तालिम दिइएको पाइएको छ ।

सैन्य तालिम र प्रशिक्षणमा पार्टीका जनसरकार प्रमुख सन्तोष बुढा, उदय चलाउने लगायत सहभागी हुने गरेको पाइएको छ । तालिममा राजनीतिक, सांगठनिक र हतियारबारे समेत प्रशिक्षण दिइएको छ । सो समूहलाई प्रतिबन्ध लगाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्तरुपमा ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।

आन्तरिक सुरक्षामा विप्लव समूह नै मुख्य चुनौती रहेको सुरक्षा निकायको विश्लेषण छ । यसअघि सो समूहसँग वार्ता हुने चर्चा चले पनि एजेन्डामा कुरा नमिल्दा पछिल्लो समय वार्ताको कुरा सेलाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेकपाले स्थानीय तहका जनप्रतिनिधिलाई निसाना बनाउँदै आएको छ ।

विभिन्न स्थानमा चन्दा आतंकसमेत मच्चाएको पाइएको छ भने कतिपय जनप्रतिनिधिलाई समेत अपरहण गरेको विभिन्न घटनाक्रमले पुष्टि भएको छ । एक उच्च सुरक्षा अधिकारीले भने, ‘सो समूहका गतिविधि हिंसाउन्मुख देखिएका छन् । ठाउँठाउँमा नेता कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् ।’

उनका अनुसार विकट स्थानमा रहेका प्रहरी चौकी, स्थानीय तहलाई उनीहरुले निसाना बनाउने सम्भावना बढेको छ । प्रहरीले सो समूहका सयौं नेता कार्यकर्तालाई पक्राउ गरे पनि विप्लवको सूचना भने पाउन सकेको छैन । पछिल्लो तीन वर्षयता विप्लव भूमिगत छन् । उनको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १०:५५