बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका अध्यक्ष एवं लुम्बिनी प्रदेश सांसद इन्द्रप्रसाद खरेल (आइपी खरेल)ले ट्वीटरमा दिएको अभिव्यक्तिका कारण विवादित बनेका छन् । नेपालीहरुको दोस्रो ठूलो महान् पर्व तिहारको तेस्रो दिन लक्ष्मी पूजाका दिन खरेलले धार्मिक आस्थामाथि प्रहार हुनेखालको अभिव्यक्ति दिएपछि विवादित बनेका हुन् ।
उनी आफ्नो ट्वीटर ह्याण्डलमा गरेको ट्वीटका कारण धार्मिक आस्थामाथि प्रहार गरेको भन्दै उनको आलोचना बढेको छ । उक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रदेश सांसद खरेल भनेका छन्, ‘लक्ष्मी पुजा नगरेका देश चन्द्रमा पुगे, हामी लक्ष्मी पुजा गर्ने नेपाली कंगाल छौ । पुजा गरेर शुखी होइन्छ भन्ने निक्ममा चेतना कहिले सकिएला हाम्रो ?’
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले त्यस्तो अभिव्यक्ति दिएपछि उनले गरेको ट्वीटले धार्मिक आस्थामाथि गम्भीर चोट पुर्याएको भन्दै सामाजिक सञ्जालहरुमा तीव्र आलोचना भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ऋषि देवकोटाले उनको ट्वीटमाथि घोर आपत्ति जनाउँदै ट्वीटरमा लेखिएका शब्द सच्चाउन अनुरोध गरेका छन् ।
उनले फेसबुकका लेखेका छन्, ‘वारे माननीय ! भनेपछि लक्ष्मी पुजा गर्ने सबै निकम्मा चेत नभएका तपाईंमात्र महान् । सोचको चेतना अलि फराकिलो बनाउनुस् कमरेड महोदय, कसैको धार्मिक गतिविधिमा धावा बोल्ने अधिकार तपाईंलाई छैन । धर्म निरपेक्षताको अर्थ राम्रोसँग बुझ्नुस् । घोर आपत्ति छ, ट्वीटरमा लेखिएका यी शब्द सच्चाउन अनुरोध ।’
‘भोट माग्ने बेलामा यही भन्न सक्नुहुन्छ ? साँच्चै संसद विकास कोषबाट सहयोग हुने लिष्टमा मन्दिर, मस्जिदजस्तो संस्थालाई सहयोग छ कि छैन । खाली देखावटी क्रान्तिकारी,’ उनको ट्वीटमा कडा प्रतिक्रिया जनाउँदै प्रकाश शर्माले लेखेका छन्, ‘लक्ष्मीको पुजा गरेर देश कंगाल भाको होइन, तपाईजस्तो अविवेकीलाई भोट हालेर हो ।’
‘यस्तै अपराधी भएर देशको हालत यस्तो भएको हो । जातिय र धार्मिक हिंसा ल्याउने काम नगरौं, चुनावमा भोट माग्न आउँदा यही भाषा प्रयोग गर्नु,’ सांसद खरेलको ट्वीटमै गौतम धिरणले भनेका छन् । त्यस्तै ट्वीटर ह्याण्डल क्षेत्री भएका एक जनाले भनेका छन्, ‘क्यान्टोन्मेन्टको ३२ अर्ब घोटाला गर्नेको पुजा गर्ने तपाईंहरु चाँही कहाँ पुग्नुभयो त महाशय ?’
https://twitter.com/jhilko55/status/1327602515106361345
त्यस्तै अर्को ट्वीटर प्रयोगकर्ता हेमजंग बस्नेतले सांसद खरेललाई धुन्दुकारीको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘देश चलाउने नेता धुन्दुकारी भएपछि कंगाल नभए के होइन्छ ?’ अर्का ट्वीटर प्रयोगकर्ता आशिष अर्यालले व्यंग्य गर्दै भनेका छन्, ‘तपाईंसँग त राम्रो चेतना रैछ त, कति चोटी चन्द्रमा पुगेर आउनु भयो ?’
यता सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ऋषि देवकोटाले लेखेको स्टाटसको कमेन्टमा सांसद खरेलले मखमली फुलको माला र भाइटिका लगाएको तस्वीर पोष्ट गर्दै बिके उपाध्यायले प्रतिक्रिया दिँदै भनेका छन्, ‘तर माननीय ज्युले तिहारको माला लगाउनुहुन्छ नि ! चिरञ्जीवी हुनेमा विश्वास छ होला ?’
‘यी कमरेडहरु बाउआमाको श्राद्ध गर्दैनन्, तर प्रधानमन्त्री पदको शपथ लिँदा चाहिँ साइत जुराउन भुल्दैनन्, कठै कँगाल मानसिकता ! नेपालगन्जका व्यवसायी ललित रौनियारले प्रतिक्रिया जनाएका छन् भने सन्तोष शाहले भनेका छन्, ‘कसैको धार्मिक आस्थामाथि बोल्ने अधिकार तपाईलाई कसले दियो ? बोल्दा अलि होस पुर्याउनु पर्छ ।’
सांसद खरेलको अभिव्यक्तिलाई वसन्त हमालले ‘मानसिक दरिद्रता’ भनेका छन् भने मनप्रसाद रेग्मीले लेखेका छन्, ‘विनोद चौधरीले लक्ष्मी पूजा गर्छन्, नेपालमा पनि नयाँ क्रिष्चियन भएका कति छन्, कति चन्द्रमा पुगेजस्तो मलाई नि लाग्दैन । कर्म नगरी अगाडि बढिन्न गीताको सार यहि हो । लक्ष्मी पुजा एक संस्कृति हो ।’
https://www.facebook.com/rishi.devkota.92/posts/3489028974469827
कानुन व्यवसायी पदम पाण्डेले लेखेका छन्, ‘धर्म निरपेक्ष भनेको कसैको धार्मिक आस्थामा चोट पुर्याउन कदापि होइन । लोकतान्त्रिक मुल्य र मान्यताका साथ साँस्कृतिक अभ्यास गर्न पाउनुपर्छ । फरक धार्मिक आस्था हुनको अर्थ अरुको आस्थालाई घृणा गर्नु शोभनिय होइन । अझ सार्वजनिक पद धारण गरेका र त्यसमा पनि सबै जातजाति, धर्म, आस्था, वर्ण, लिङ्ग, संस्कृति मान्नेहरुको प्राप्त मतले सार्वजनिक पद प्राप्ति गरेका व्यक्तिको व्यक्त धारणाले पदीय जिम्मेवारी प्राप्तिको योग्यताको अभाव देखिन्छ ।’
‘नक्कलीहरुको सक्कली सन्देश आउने कुरै भएन । संसदजस्तो पदमा आसिन ब्यक्तिले विचार प्रवाह गर्दा सम्पूर्ण हिन्दूहरुको आस्थामा चोट पुर्याउने अभिब्यक्ति दिनु दुर्भाग्यपूर्ण छ । घोर भत्र्सना गर्दछु,’ हिक्मत ढकालले लेखेका छन् भने रविकुमार रौनियारले ‘अब आफ्नो पार्टीका नेताहरुको मलद्वारलाई हरिद्वार देख्ने यस्ता नास्तिक मानसिकता गुमाएका कपुतहरुको बोली पनि मलजस्तै हुनुमा शंका गर्नुहुँदैन !’ भन्दै कडा जवाफ दिएका छन् ।
‘सनातनी बढी उदार र परोपकारी हुने भएकोले नै यस्ता सनकबहादुरका कुरालाई खासै महत्व नदिने प्रतिवाद नगर्ने भएकोले बेला बेलामा यस्ता टिप्पणी आइरहेका हुन्छन् । सनातनी धर्म र आस्थाप्रति यस्तो खालको टिप्पणी महोदय अबदेखि भुलेर पनि नगर्नु होला तपाईंलाई महङ्गो पर्नसक्छ । फ्रान्सको घटना पनि यस्तैयस्तै कारणले भएको कुरा यहाँलाई स्मरण गराउन चाहन्छु,’ केशव पौडेलले भनेका छन् ।
सांसद खरेलको अभिव्यक्तिमाथि टिप्पणी गर्दै श्रीमद् भागवत सभा संघले भनेको छ, ‘बेबकुफी मानसिकताको बर्बराहट खरेल महाशयको । चन्द्रमामा जान कसले रोकेको छ, गए भैगो नि, आफू जान हुति नहुने, अनि लक्ष्मी पुजाको दिन बहुलाउने त भएन नि !’ सामाजिक सञ्जालमा उनले ट्वीट गरेको अभिव्यक्ति सामाजिक, धार्मिक र साँस्कृतिक एकता भाँड्नका लागि आएकोले यसलाई तत्काल सच्याउन अनुरोध गरिएको छ ।
सत्यपाटी ।