सूचनाको शक्ति - The Power Of Information

        

विकास

नेपालगन्ज सीमा नाकामा ‘आइसीपी’, शिलान्यासपछि ‘खुशीयाली’

फाइल तस्वीर

बाँके । पश्चिम तराईको प्रमुख नाका बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा लामो समयदेखि निर्माण अधुरै रहेको एकीकृत भन्सार जाँच चौकी (इन्ट्रिग्रेटेट चेक प्वाइन्ट–आइसीपी) निर्माण सुरु भएको छ । जग्गा अधिग्रहण गरेको १० वर्षपछि बिहीबारबाट औपचारिकरुपमा आइसीपी निर्माण कार्य औपचारिकरुपमा सुरु भएको हो ।

भारत सरकारले बनाइदिने राष्ट्रियस्तरको ठूलो आयोजना निर्माण कार्य अधुरो हुँदा भन्सारसँग सम्बन्धित काममा कठिनाइ हुँदै आएको थियो । नेपालगन्ज भन्सार कार्यालयका अधिकारीहरुका अनुसार आइसीपी नहुँदा ठुलाठूला कन्टेनर र मालबाहक सवारी साधन सडकमै पार्किङ गर्नुपर्ने अवस्था अहिले पनि कायमै छ । यद्यपी आइसीपी निर्माणपछि यो समस्या हट्ने विश्वास व्यक्त गरिएको छ ।

सेवाग्राही र सेवाप्रदायक कार्यालयलाई काम गर्न झन्झटिलो र कठिनाइ भइरहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए । ‘आइसीपी निर्माण कार्य लामो समयदेखि अधुरो हुँदा भन्सारसँग सम्बन्धीत काममा समस्या हुँदै आएको थियो, ढिलै भए पनि निर्माणकार्य सुरु भएको छ । निर्माण सम्पन्न भएमा गाडी जाँचपास लगायत भन्सारसँग सम्बन्धित सबै काम गर्न धेरै सजिलो हुनेछ,’ उनले भने ।

निरौलाका अनुसार सुक्खा बन्दरगाह निर्माण भएपछि दुवै देशका भन्सार चेकजाँच एउटै ठाउँमा गरिन्छ । एउटै ठाउँमा सबै कार्यालय हुँदा सेवाग्राहीले समस्या बेहोर्नुपर्दैन । साथै यसबाट आर्थिक भार पनि कम हुने निरौलाको बुझाइ छ । नेपालगन्ज भन्सार कार्यालयका साथै पशु क्वारेन्टाइन, अध्यागमन, बैंक काउन्टर, खाद्य प्रविधि, प्लान्ट क्वारेन्टाइन लगायत सरोकारका सबै कार्यालय आइसीपी परिसरमै रहनेछन् ।

भारतले आइसीपी परिसरमा आवश्यक पर्ने उच्च प्रविधियुक्त ठूला पूर्वाधार निर्माण गरिदिने सम्झौता भएअनुसार त्यसका लागि आवश्यक पर्ने जग्गा खरिद, सडक, तारबार र सुरक्षा पोस्ट नेपाल सरकारले नै निर्माण गरेको हो । सरकारले आर्थिक वर्ष २०६५÷०६६ मा साविक जयसपुर गाविसमा साढे ९० बिघा जग्गा अधिग्रहण गरेको थियो । आइसीपी निर्माणका लागि अधिग्रहणमा परेका जग्गाधनीलाई सरकारले झण्डै १० करोड रकम वितरण गरिसकेको छ ।

लामो समयसम्म आइसीपी निर्माण नहुँदा गाई, भैंसीको चरण क्षेत्र बनेको सो क्षेत्रमा यसअघि बनेका भौतिक संरचना पनि बेवारिसे हुँदै आएका थिए । जयसपुरका रामफेरन गोवालले सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएपछि खुशी व्यक्त गरे । उनले भने, ‘१० बर्षसम्म गौचरणमा परिणत भए पनि काम सुरु हुँदा निकै खुशी लागेको छ । दुवै देशका सरकारले यसको चाँडो निर्माणलाई तोकिएकै समयमा सक्नुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य आइसीपी निर्माणमा ढिलाइ हुँदा उद्योगी, व्यवसायीलाई पनि अनेक समस्या भइरहेको अवस्थामा सुख्खा बन्दरगाह निर्माणको सुरुवात हुनुले नेपालगन्ज तथा पश्चिम नेपालकै लागि गौरवको कुरा भएको बताए । ‘आइसीपी निर्माण कार्य सुरु भएको छ, बीचमा रोकिने अवस्था आउनुहुँदैन । आइसीपी निर्माण कार्य चाँडो सकिएमा हामी व्यापारीलाई भन्सारको काममा धेरै सजिलो हुन्थ्यो,’ श्रेष्ठले भने ।

नेपालगन्ज नाकाबाट कर्णाली प्रदेशका पुरै जिल्ला तथा लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लाका लागि सामान निकासी–पैठारी गरिन्छ । आइसीपी निर्माणमा भारत सरकारकै बेवास्ताका कारण ढिलाई भएको सरकारी अधिकारीहरु बताउँछन् । यसअघि नेपालगन्जको आइसीपी निर्माणको काम भारतको प्राथमिकतामा नपरेका कारण ढिलाइ भएको यहाँका उद्योगी व्यापारीहरुले गुनासो गर्दै आएका थिए ।

यद्यपी ढिलै भए पनि आइसीपीको निर्माण कार्य सुरु भएको छ । बिहीबार सङ्घीय सरकारका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतका उद्योग वाणिज्यमन्त्री पियुष गोयलले संयुक्तरूपमा भिडियो कन्फ्रेन्समार्फत जाँच चौकीको निर्माण शिलान्यास गरेसँगै निर्माण कार्य सुरु भएको हो । बाँकेको नेपाल–भारत सिमानामा रहेको जानकी गाउँपालिका–१ मा आयोजना गरिएको एक औपचारिक कार्यक्रममार्फत शिलान्यास तथा भूमिपुजन गरिएको हो ।

काठमाडौँबाट भिडियो कन्फ्रेन्समार्फत कार्यक्रमलाई सम्बोधन गर्दै सहरी विकासमन्त्री श्रेष्ठले एकीकृत भन्सार जाँच चौकीको निर्माणपछि पश्चिम नेपालको व्यापार–व्यवसायले फड्को मार्ने बताए । उनले यो आयोजनाले दुवै देशको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्नुका साथै नेपालको आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । सहरी विकासमन्त्री श्रेष्ठले तोकिएकै समयमा सम्पन्न गर्न भारत सरकारलाई घच्घच्याइरहने पनि बताए ।

भारतको नयाँदिल्लीबाट पनि भिडियो कन्फ्रेन्सबाटै कार्यक्रमलाई सम्बोधन गर्दै भारतका उद्योग वाणिज्यमन्त्री गोयलले आइसीपीको निर्माणले दुवै देशको ऐतिहासिक सम्बन्धलाई बलियो बनाउनुका साथै व्यापार–व्यवसायलार्ई समेत नयाँ उचाइमा पुर्याउने बताए । उनले यसअघि भारत सरकारको सहयोगमा वीरगन्ज र विराटनगरमा निर्माण गरिएका आइसीपीले धेरै राम्रो काम गरिरहेको जनाउँदै यहाँ निर्माण गरिने तेस्रो आइसीपीले पनि राम्रो काम गर्ने बताए ।

लामो समयको अन्योलसँगै जग्गा अधिग्रहण गरिएको १० वर्षपछि निर्माण सुरु गरिएको आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ भने भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको जिम्मा पाएको छ । आइसीपीका लागि नेपाल सरकारले भारतको रुपैडिया नाकासँग जोडिएको नेपालतर्फको साढे ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गर्नुका साथै सुरक्षा पोष्टसमेत स्थापना गरिसकेको छ ।

आगामी दुई वर्षभित्र निर्माण पूरा हुने गरी भारत सरकारको दुई अर्ब ३५ करोड रुपैयाँको सहयोगमा आइसीपी निर्माण हुनेछ । जमुनाहा–नेपालगन्ज चारलेन सडक खण्डको चौलिका चोक नजिकैबाट पश्चिम–दक्षिण क्षेत्रमा रहेको निर्माणाधीन आइसीपी पुग्न ६० मिटर चौडा र दुई किलोमिटर ७०० मिटर जग्गा सडकका लागि जग्गा अधिग्रहण गरिएको छ भने सुक्खा बन्दरगाह क्षेत्रका लागि ९०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ रहेको जग्गा छुट्ट्याइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १२:१०