सूचनाको शक्ति - The Power Of Information

        

बैतडीको खोड्पेमा बस दुर्घटनामा मृत्यु भएका नौ मध्ये पाँचको पहिचान खुल्यो

बैतडी । खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । गएराति १० बजे भएको दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् ।

बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टि गरेको छ ।

साँघुरो सडकमा रहेको सानो घुम्तीबाट बस ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् ।

मृतकमध्ये पाँच जनाको नाम मात्रै खुलेको छ । बैतडीको दोगडाकेदार–६ का प्रहरी जवान रणवहादुर चन्दको परिचय पत्रका आधारमा सनाखत भएको छ ।

त्यसैगरी नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा परी मृत्यु भएको छ । घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी पठाइएको छ ।

बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिएको छ भने एक जनाको शव बसबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयबासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ ।

बसधनी आफैं चालक रहेका र उनीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार ०९:१२