सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीद्वारा नक्कली नोट छाप्ने मेसिन सहित तीन जना पक्राउ

सिरहा । सिरहाको गोलबजारबाट  सशस्त्र प्रहरीले नक्कली नोट छाप्ने मेसिन सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका वडा नं.१२ बस्ने  धिरज यादव, संजय राय र कल्याणपुर नगरपालिका वडा नं.७ बस्ने विम्लेन्द्र कुमार नायक छन् । उनीहरुको साथबाट ६ लाख ८४ हजार नक्कली नेपाली नोट समेत बरामद भएको सशस्त्र प्रहरीका प्रदेश २ कार्यालय महोत्तरीले जनाएको छ ।

गोलबजारमा रहेको सशस्त्र प्रहरी सुरक्षा वेशले वडा नं.६ स्थित विरेन्द्र महतोको घरमा विगत केही दिनदेखि शंकास्पद गतिविधि बढ्न थालेको गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा नक्क्ली नोट, नक्कली नोट छाप्ने सहित मेशिन, एक ल्यापटप र मोटर साइकल समेत बरामद गरेको हाे  ।

लागूऔषध कारोबारी हुन सक्ने आशंकाका साथ वेश क्याम्पका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन थापा खानतलासीका लागि उक्त स्थानमा पुग्दा  एक हजार दरका एक सय ४ तयारी जाली नोट र पाँच सय ४०  जाली नोट ए फोर साइजको कागजमा छपाई गरी कटिङका लागि तयारी हालतमा राखिएको बरामद भएको थियो ।

बरामद जाली नोट, नोट छाप्ने मेशिन र उक्त कार्यमा संलग्न तीन जनालाई कानुनी प्रक्रिया पुरा गर्न र थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोली बोलाएर  बुझाइएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआईजी कृष्णभक्त ब्रह्मचार्यलय जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार ०९:०९