बझाङ । जिल्ला कारागार बझाङबाट एक जना थुनुवा फरार भएका छन् । नेकपा विप्लव समूहमा आवद्ध प्रविन्द्र धामी बझाङ कारागारको पुरानो भवन भित्रको आइसोलेसन कक्षबाट भागेका हुन् ।
उनी बुधबार बिहान ६ बजेदेखि ६ः१५ बजेबीचको समयमा सुरक्षाकर्मीले ड्यटी परिवर्तन गरिरहेको समयमा भागेको हुन सक्ने जेलर झलक रोकायाले बताए । धामीलाई कोरोना पोजेटिभ देखिएपछि कारागारभित्र एक्लै बस्दै आएका थिए । उनी छबिसपाथिभेरा गाउँपालिका–५ बासिन्दा हुन् ।
उनी गत कात्तिक १५ गते धनगढीबाट चन्दा असुलीको आरोपमा पक्राउ परेका थिए । विगत केहि बर्षदेखि धामी विप्लप कार्यकर्ता भन्दै आफुलाई चन्दा दिनका लागि धेरै दुख दिँदै नदिए ज्यान मार्ने धम्कीसमेत दिने गरेको जनप्रतिनिधिहरु बताउँछन् ।
कात्तिक १७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । साथै जिल्ला अदालत बझाङले २०७७ साल कार्तिक १८ गते थुनछेकका लागि कारागार चलान गरेको थियो । केहि महिनादेखि कारागारको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिएको थियो ।
यता कारागारको आइसोलेसन कक्षबाट विप्लव समुहमा आवद रहेका धामी भागेपछि उनको खोजी कार्यलाई समेत तीव्र पारिएको र छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीको संयोजगत्वमा छानविन टोलीसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
सत्यराज सिंह ।