सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने, सभामुख सुवास नेम्वाङ !


काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनको मिति तोकिइसकेको अवस्थामा अब अहिलेको कामचलाउ सरकारको आयु एक महिनाजति बाँकी छ । त्यसपछि बन्ने नयाँ सरकारका प्रधानमन्त्री केपी ओली बन्ने लगभग पक्काजस्तै छ । प्रधानमन्त्रीको चर्चा जति छ उत्तिकै अब बन्ने नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको पनि चर्चा छ । केहीले एमालेबाट झलनाथ खनाल राष्ट्रपति बन्ने दावी गरिरहँदा घटनाक्रमले भने पुरानै राष्ट्रपति दोहोरिने संकेत गरेका छन् । दोस्रो कार्यकालको लागि राष्ट्रपति बन्न विद्यादेवी भण्डारीले आफैं लबिङ थालेकी छिन् । अहिलेको संविधानमा दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने प्रावधान भएपछि भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति हुन चाहेकी हुन् ।
मात्रै ५६ वर्षकी भण्डारी अहिले नै रिटायर्ड हुन चाहेकी छैनन् । त्यसमाथि संक्रमणकालका कारण उनको कार्यकाल मात्रै २ वर्षको हुने भएपछि उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति हुन चाहन्छिन् । यसका लागि एमाले र माओवादी नेतृत्वले पनि सकारात्मक संकेत दिएपछि उनमा फेरि राष्ट्रपति बन्ने लालसा बढेको छ । दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न भण्डारीले २ रणनीति अपनाएकी छिन् । पहिलो, केपी ओलीको नेतृत्वमा सकेसम्म छिटो सरकार गठनका लागि दबाब दिने । दोस्रो, एमाले र माओवादीका प्रभावशाली नेताहरुलाई आफ्नो प्रभावमा पारी फकाउने । पहिलो रणनीतिअनुसार नयाँ सरकार निर्माणको बाटो छिटो खुलाउन पनि राष्ट्रपति भण्डारीले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवलाई बोलाएर पटक–पटक सरकार गठनको वातावरण बनाउन दबाव दिएकी थिइन् ।
भण्डारीले यादवलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजानिक गर्न पनि आग्रह गरेकी थिइन् । निर्वाचन आयोगले भने संवैधानिक जटिलताको व्याख्या गर्दै राष्ट्रपतिको आग्रह मानेन । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आफ्नो निवासमा नयाँ जनादेश अनुसार नयाँ सरकार गठनका लागि ठाउँ छोडिदिन आग्रह समेत गरिन् । यद्यपि सरकारले पनि राष्ट्रियसभा नभएको बहाना बनाउँदै उनको आग्रह भने मानेन । पहिलो रणनीतिले अपेक्षित उपलब्धी नदिएपछि राष्ट्रपति भण्डारीले ‘प्लान बी’ अघि बढाइन् । दोस्रो रणनीतिअनुसार उनले पुस २३ गते आइतबार साँझ एमाले र माओवादीका गरी दर्जन प्रभावशाली नेतालाई बोलाएर रात्रिभोज दिइन् । रात्रिभोजमा एमालेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली र शंकर पोखरेल तथा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सहभागी थिए ।
भण्डारीले नेता कृष्णबहादुर महरालाई समेत बोलाएकी थिइन् तर उनी राजधानीबाहिर भएकाले रात्रीभोजमा सहभागी हुन सकेनन् । यी नेताहरुलाई बोलाएर राष्ट्रपतिले आफ्नो दोस्रो कार्यकालका लागि समर्थन गरिदिन आग्रह गरेको शितलनिवास स्रोतले जनाएको छ । यी सबै नेताहरु पार्टी्भित्र प्रभावशाली रहेको र उनीहरुको धारणा निर्णायक भएकोले उनले यी नेताहरुलाई फकाएकी हुन् । त्यतिमात्र होइन राष्ट्रपति भण्डारीले केही दिन अघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको परिवारलाई आफ्नो निवासमा बोलाएर भोज खुवाएकी छन् । सो भोजमा राष्ट्रपति भण्डारीले आफू फेरि राष्ट्रपति बन्न इच्छुक रहेको संकेत गरेकी थिइन् । राष्ट्रपतिको यो लबिङलाई एमाले माओवादी नेतृत्वले समेत सकारात्मक रुपमा लिएको छ । दुवै दलको नेतृत्व सकारात्मक भएसँगै भण्डारी दोस्रो कार्यकालको लागि राष्ट्रपति बन्ने देखिएको छ ।
राष्ट्रपतिमा विद्यादेवी भण्डारीसँगै उपराष्ट्रपतिमा नन्दबहादुर पुन पनि दोहोरिने बलियो सम्भावना छ । तर, सभामुखमा भने ओनसरी घर्ती दोहोरिने सम्भावना कम छ । भण्डारीलाई राष्ट्रपतिमा दोहो¥याउन एमालेको संस्थापन पक्ष इच्छुक छ । केपी ओली पुनः भण्डारीलाई नै राष्ट्रपति बनाउन चाहन्छन् भनेर माओवादीका प्रभावशाली नेता देवेन्द्र पौडेलले मिडियामै भनेका हुन् । पौडेलले त्यतिबेला राष्ट्रपति दोहो¥याउँदा जनताले नयाँपन अनुभव नगर्ने हुँदा राष्ट्रपति दोहो¥याउन नहुने तर्क गरेका थिए । तर माओवादी नेतृत्व पनि पुरानै राष्ट्रपति दोहो¥याउन सकारात्मक देखिएको छ । माओवादी स्रोतका अनुसार राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहो¥याउने एमालेको प्रस्तावको माओवादीले विरोध गरेन । बरु माओवादीले अर्को कार्ड फाल्यो, राष्ट्रपति दोहोरिए उपराष्ट्रपति पनि दोहो¥याउने । माओवादीको यो प्रस्तावलाई एमालेले पनि सकारात्मक रुपमा लिएको बताइएको छ । हुन त माओवादीले अनौपचारिक बैठकमा राष्ट्रपति दोहोरिए उपराष्ट्रपति र सभामुख पनि पुरानै दोहो¥याउने प्रस्ताव गरेको थियो ।
तर, निर्वाचनपछिको एमाले र माओवादीको हैसियतका आधारमा शक्ति बाँडफाँड गर्दा यसो गर्न एमाले तयार भएन । माओवादीले पनि उपराष्ट्रपति पाए सभामुखमा बार्गेनिङ नगर्ने नीति लियो । शक्ति सन्तुलनको हिसाबमा सभामुख एमालेको भागमा पर्ने देखिएपछि माओवादीले सभामुख दोहो¥याउने विषयमा अडान छोडिदियो । सभामुख एमालेको भागमा पर्ने भएसँगै एमालेभित्रबाट सभामुख को बनाउने भन्ने चर्चा पनि चलिरहेको छ । एकथरीले सभामुखमा सुवास नेम्वाङ नै निर्विकल्प भएको बताएका छन् । तर, नेम्वाङले भने सभामुख बन्ने इच्छा जाहेर गरेका छैनन् । नेम्वाङले लामो समउसम्म सभामुख रहेर सफल कार्यसम्पादन गरिसकेको हुँदा उनी नै सभामुख हुनुपर्ने आवाज उठ्ने गरेको छ । तर, नेम्वाङले यस विषयमा केही नबोलेका कारण उनी सभामुख बन्लान् वा नबन्लान् निश्चित छैन । नेम्वाङले सभामुख बन्छु भनेको खण्डमा उनलाई सभामुख बन्न कसैले नरोक्ने एमाले स्रोत बताउँछ । एमालेभित्र पहिले सभामुख बन्न नेम्वाङलाई नै प्रस्ताव गर्ने र उनले नमानेमा मात्र अर्को विकल्प खोज्ने तयारी भइरहेको बताइएको छ । परिस्थितिले सभामुखको निर्णय नेम्वाङको इच्छामा भर पर्ने स्थिति ल्याइदिएको छ ।

प्रकाशित मिति : १ माघ २०७४, सोमबार १०:२९