डोल्पा । दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको सेनाले जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाद्वारा तीव्र पारिएपछि डोल्पालीको सडक सपना सेनाले अन्तिम चरणमा पुर्याएको हो ।
जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाइ ११७ दशमलव ७ किमी सडकखण्डमध्ये ११४ दशमलव ७ किमी सडक सेनाले निर्माण कार्य पूरा गरिसकेको छ । डोल्पाको दुनैसम्म सडक जोड्नका लागि श्रीविण्डे–त्रिपुराकोट खण्डको तीन किमी मात्रै निर्माण कार्य बाँकी रहेको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए ।
‘अहिले जाजरकोट–डोल्पा सडकखण्डको श्रीविण्डे–त्रिपुराकोट खण्डमा सडक निर्माण कार्य भइरहेको छ, उक्त खण्डमा भिर पहरायुक्त भएकाले निर्माण कार्यमा चुनौती भए पनि सेनाले ज्यानको बाजी लगाउँदै काम गरिरहेको छ,’ पहाडीले भने । उनका अनुसार अब माघ दोस्रो साताभित्रै रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारदेखि त्रिपुरासुन्दरी नगरपालिकाको श्रीविण्डेसम्मको सडकखण्ड उद्घाटन गर्ने तयारी छ ।
उद्घाटन लगत्तै जिप, ट्र्याक्टरलगायतका हलुका यातायातका साधन सञ्चालन गरेर जनतालाई राहत दिने लक्ष्य रहेको उनले बताए । सेनाले युद्धस्तरमा काम गरिरहेको देख्दा डोल्पालीहरु पनि खुशी भएका छन् । सडक निर्माणपछि यातायातको असुविधामा दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी पर्दा उपचार गर्नका लागि सुगममा लैजानसमेत सहज हुने डोल्पालीको विश्वास छ ।
जाजरकोट–डोल्पा सडकखण्डको रुकुम डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म गत ०७३ सालमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीद्वारा उद्घाटन गरेर यातायात सञ्चालनमा ल्याइएको थियो । गोतामकोटदेखि त्रिवेणीसम्म यातायात सञ्चालनमा ल्याइएपछि तल्लो डोल्पाका जनता प्रत्यक्ष लाभान्वित भएका छन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत सहज भएको मुड्केचुला गाउँपालिकाका स्थानीयवासी सरोज थाले बताए । रासस
।