सूचनाको शक्ति - The Power Of Information

        

बन्दना राणा संयुक्त राष्ट्रसंघीय सिड कमिटिमा दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा पुनः निर्वाचित भएकी छन् ।

उनी दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जनाएको छ ।

न्यूर्योकमा सोमबार भएको कमिटिको २१ औँ बैठक अन्तर्गत भएको चुनावमा १३७ देशको मत पाएर राणा पुनः निर्वाचित भएकी हुन् ।

१९ उम्मेदवार मध्ये सर्वाधिक मत पाउनेको सूचिमा उनी तेस्रो स्थानमा रहिन् । सन् २०२१–२०२४ को कार्यकालका लागि निर्वाचित हुने ११ उम्मेदवार मध्ये उनी एक हुन् ।

नेपालकी राणासँगै नेदरल्याण्डस, बहमास, लिथुवानिया, घाना, अस्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका विज्ञहरु पनि सिटका लागि निर्वाचित भएका छन् ।

राणा हाल सिड कमिटिकी उपाध्यक्ष पनि हुन् । सिड कमिटिमा रहेर काम गर्ने उनी पहिलो नेपाली हुन् । राणाले तीन दशकदेखि लैंगिक समानता र महिला अधिकारको पक्षमा काम गर्दै आएकी छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार ०७:३५