सूचनाको शक्ति - The Power Of Information

        

सिर्जनशीलता

गाडीका पुराना टायरबाट आकर्षक गमला, बन्दाबन्दीमै दुई लाखको बिक्री

बाँके । नेपालगन्जमा एकजना व्यक्तिले सडकमा फालिएका पुराना टायर लगायतका कवाडी सामानहरूको प्रयोगबाट घर सजाउने आकर्षक गमला निर्माण थानेका छन् । बन्दाबन्दीपछि काम सुरु गरेका नेपालगन्ज उपमहानगरपालिका–४ सल्यानबागका सूर्य गुरुङलाई काम सुरु गरेको केही महिनामै माग पूरा गर्न धौधौ भएको छ ।

पूर्व वडाध्यक्षसमेत रहेका गुरुङ बन्दाबन्दीभन्दा अगाडि राजनीतिक कार्यक्रमहरूमा भेटिन्थे । बन्दाबन्दीपछि भने घरबाट बाहिर निस्किएका छैनन् । कवाडी सामान प्रयोग गर्दै उनले आकर्षक गमला बनाउन थालेपछि घरबाहिर निस्कन समय नै पाएका छैनन् । गुरुङले घरको छतमा बसेर गमला तयार पार्छन् ।

गमला खरिदका लागि मानिसहरू उनको घरसम्म पुग्ने गर्छन् । बन्दाबन्दीको समयमा घरबाहिर निस्किने अवस्था थिएन, सडकमा फालिएका गाडीका टायरबाट घरको छतमा ड्रागन फ्रुट लगायतका अन्य तरकारी रोप्न केही गमला बनाएँ,’ गुरुङ भन्छन्, ‘ती गमला सामाजिक सञ्जाल फेसबुकमा राखेको थिए, साथीभाइले मन पराएपछि यसमै समय बित्न थालेको छ ।’

 

बन्दाबन्दीपछि करिब १०० गमला बिक्री गरिसकेका गुरुङ अहिले मागअनुसारको गमला बनाउन समय अभाव हुने गरेको बताउँछन् । व्यक्तिगतसँगै सरकारी र गैरसरकारी कार्यालयबाट गमलाको माग हुने गरेको उनको भनाइ छ । एक हजारदेखि पाँच हजार रुपैयाँसम्मको गमला बिक्री गरेका गुरुङले करिब दुई लाखको गमला बिक्री गरेको बताए ।

गाडीका पुराना टायर, मिनिरल वाटरका बोतल, जारका बोतल लगायत अधिकांश कवाडी सामान आफूले प्रयोग गरी गमला बनाउँदै आएको गुरुङ बताउँछन् । सामाजिक सञ्जालमा टायरको गमला बनाएको देखेपछि आफूले पनि बनाउन सक्छु भन्ने लागेर सुरु गरेको उनको भनाइ छ । सबैले हौसला दिएकाले यसलाई व्यवसायकै रूपमा अघि बढाउने गुरुङको सोच छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १५:५४