सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक कार्य

महंगीमा २० रुपैयाँमा पेटभरि खाना !

खानाको गुणस्तर थाहा पाउन २० रुपैयाँमा खाना खाँदै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ ।

बाँके । आजभोलि २० रुपैयाँमा खाना ! त्यो पनि आजको महँगो समयमा ? आजकाल १०० रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा २० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । हो, यो वास्तविकता नेपालगन्जस्थित भेरी अस्पताल परिसरको हो ।

जहाँ असम्भव लाग्ने कामलाई पनि जहाँ नेपालगन्ज उपमहानगरपालिका र श्री सुन्दर काण्ड मित्र मण्डलले सम्भव गराएको छ । अहिले १५० बढी नागरिकहरु त्यहाँ खाना खान्छन् । आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाको गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान पुग्छन् ।

खानाको गुणस्तर थाहा पाउन २० रुपैयाँमा खाना खाँदै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ ।

दैनिक सयौँ बिरामी उपचारका लागि पुग्ने भेरी अस्पताल नेपालगन्जमा २० रुपैयाँमा पेटभरि खाना दिन थालिएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि २० रुपैयाँमा पेटभरि खाना दिन थालिएको हो । नेपालगन्ज उपमहानगरपालिका र श्री सुन्दर काण्ड मित्र मण्डलले सुरु गरेको अभियानमा खाना खान आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।

सुन्दर काण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले दैनिक ४०० जनालाई आफूूहरूले खाना खुवाउन सक्ने जानकारी दिए । ‘हाल दैनिक १५० जनासम्मले खाना खाइरहेका छन्,’ गुप्ताले भने, ‘खान खानेको सङ्ख्या बढेको छ ।’ कोरोनाका बिरामीको उपचारसँगै भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौँ व्यक्ति उपचारका लागि आउँछन् ।

खाना खुवाउने स्थलमा अनुगमनका लागि पुगेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर राणा ।

विपन्न व्यक्ति तथा अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई लक्षित गरी २० रुपैयाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ । गुणस्तर जाँच्न यस्तो खाना बेलाबेलामा प्रमुख जिल्ला अधिकारी र उपमहानगरपालिकाका मेयरले समेत खाने गरेका छन् । त्यहाँ खाना खान विपन्न मानिसमात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको पनि उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर राणाले मानवीय कार्यमा सहयोग गर्न स्थानीय सरकार सधँै तयार रहेको बताए । ‘२० रुपैयाँमा एकदमै राम्रो खाना दिन सक्नु आफैँमा पुण्यको काम हो,’ आइतबार खाना खुवाउने स्थलमा अनुगमनका लागि पुगेका मेयर डा.राणाले भने, ‘यस्ता कार्यलाई निरन्तरता दिन सबैको सहयोग हुनुपर्छ ।’

२० रुपैयाँमा खाना खाँदै सर्वसाधारणहरु ।

अस्पताल परिसरमा शनिबारबाहेक हरेक दिन बिहान १० देखि १ बजेसम्म खाना खुवाइन्छ । आइतबार भेरी अस्पताल पुगेर २० रुपैयाँमा खाना खाएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले खानाको गुणस्तर राम्रो पाएको बताए । ‘यसलाई निरन्तरता दिनुपर्छ,’ प्रजिअ कुरुम्बाङले भने, ‘मानवीय सहयोगका कार्यमा सक्ने जतिले सहयोग गर्नुपर्छ ।’

अभियानमा नेपालगन्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैयाँ सहयोग गर्दै आएको छ । अन्य खर्च मित्र मण्डलले सहयोगीदाता लगायतबाट व्यवस्थापन गर्दै आएको छ । कात्तिक ७ गतेबाट सुरु गरिएको खाना खुवाउने कार्यक्रमअनुसार मासिक एक लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको सुन्दर काण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताए ।

उनका अनुसार २० रुपैयाँमा दाल, भात, तरकारी र शुद्ध पिउने पानी उपलब्ध गराउने गरिएको छ । अहिले करिब तीन हजारले खाना खाइसकेको जानकारी दिँदै गुप्ताले बजारभन्दा सस्तोमा खाना खुवाउन आफूहरुले यो अभियान सुरु गरेको बताए । मालपोत, जिल्ला अदालत, भेरी अस्पतालमा आउने गरिब तथा विपन्न नागरिकलाई खान खुवाइरहेको गुप्ताको भनाई छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १३:५१