सूचनाको शक्ति - The Power Of Information

        

दिल्ली आइपीएलको फाइनलमा प्रवेश

काठमाडौं । दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आबुधाबीमा हिजो राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो ।

दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै अब्दुल समादले ३३ रन जोड्दा राशिद खानले ११ रन बनाए । मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए ।

जासन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नरले मात्र २ रन बनाए । हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिए ।

मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रन हिटमायर ४२ रनमा अविजित रहे । यस्तै मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए ।

हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १ १ विकेट लिए । यससँगै दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

तर, यस सिजन लेग स्पिनर सन्दीपले भने मैदान उत्रने मौका पाएका छैनन् । अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ ।

फाइनल खेल भोलि हुनेछ । हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि दिल्ली पहिलो क्वालिफायरमा मुम्बईसँग नै ५७ रनले पराजित भएको थियो ।

तर, आईपीएलको नियम अनुसार पराजित भएपनि दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

हैदराबादले भने एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । एजेन्सी

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार ०७:४८