काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका ४ नयाँदमारका २० वर्षीय विकास वाइवाका हत्यारा ललितपुरबाट पक्राउ परेका छन् । कात्तिक २१ गते दिउँसो साढे ३ बजे साथीको हत्या गरेर भागेका २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई ललितपुरमा गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
हत्या आरोपी भोलन प्रहरीले आइतबार बिहान सार्वजनिक गरेको हो । सिमाद खोलाको बगर नयाँदमारमा रहेको फुटबल चौरमा बसी चुरोट खाइरहेको अवस्थामा विवाद हुँदा खुकुरीले हानेर शंकरले विकासको हत्या गरेको प्रहरीको भनाइ छ । शंकरले विकासलाई लखेटी–लखेटी खुकुरी प्रहार गरेको र पछि घाँटी छिनाएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार साथीको हत्यापछि शंकर फरार थिए । मकवानपुर प्रहरीले जिल्लाभर व्यापक रुपमा प्रहरी परिचालन गर्दै जिल्लाका सीमा नाकाहरू समेत शील गर्दै भोलनको हुलिया र फोटो पठाएर खोजतलास व्यापक बनाएको थियो । शनिबार साँझ ५ बजे ललितपुरको बागमती गाउँपालिका २ माल्टाका स्थानीयले शंका लागि नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय ठिंगन र प्रहरीचौकी भट्टेडाँडा ललितपुरको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । भोलनलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानूनी कारबाही हुने एसपी राठौरले जानकारी दिएका छन् ।
सत्यपाटी ।