सूचनाको शक्ति - The Power Of Information

        

मौसम

मनसुन सकिएपछि पश्चिमी वायुको प्रभाव, एक्कासी बढ्यो जाडो

जुम्लाको तापक्रम माइनसमा झरिसकेको छ ।

काठमाडौं । तीन दिनअघिसम्म न्यूनतम १३ डिग्रीको हाराहारी रहेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार १० डिग्री रेकर्ड भयो । एक्कासि तापक्रम गिरावट भएपछि सर्वसाधारणले चिसो बढेको महसुस गरेका छन् । ‘अलि–अलि गरेर तापक्रम घटेको भए हामीलाई एकै पटक चिसो बढेको महसुस हुने थिएन,’ जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन्, ‘एकैपटक तापक्रम घटेपछि चिसो बढेको अनुभव सबैले गरेका छन् ।’

उनका अनुसार तापक्रम घटेको देखिए पनि यो औसत हाराहारी नै हो । अधिकतम तापक्रम पनि काठमाडौंमा तीन दिनअघिसम्म २७ डिग्री रेकर्ड भइरहेकामा शनिबार २४ मात्र भएको छ । जुम्लाको तापक्रम माइनसमा झरिसकेको छ । दुई दिनअघिसम्म माइनस मात्र रहेको जुम्लाको न्यूनतम तापक्रम शनिबार माइनस २ डिग्रीसम्म झरेको छ । अधिकतम तापक्रम पनि झरेको छ । जोमसोमको तापक्रम पनि २ र पोखरामा १३ डिग्रीमा झरेको छ ।

यस्तो किन भइरहेको छ त ? ‘मनसुन सकिएसँगै पश्चिमी वायुमा हिमाल छोएर आएको सिरेटोसमेत मिसिएपछि मौसम चिसिँदै गएको हो,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् नीराजन सापकोटाले भने, ‘साधारणतया हरेक वर्ष मनसुन सकिएपछि यस्तो गतिविधि देखिन थाल्छ ।’ अघिल्ला वर्षहरूको तथ्यांक हेर्ने हो भने पनि नोभेम्बर सुरु भएपछि अधिकांश स्टेसनहरूमा तापक्रममा गिरावट आउने गरेको देखिन्छ ।

अघिल्लो वर्षको नोभेम्बर ७ मा पनि काठमाडौंको न्यूनतम तापक्रम १०–१२ डिग्रीसम्म रेकर्ड भएको थियो, सन् २०१८ मा झन् यही समयमा न्यूनतम तापक्रम ६–८ डिग्रीसम्म झरेको देखिन्छ । सन् २०१७ को नोभेम्बर ७ मा काठमाडौंको न्यूनतम तापक्रम ९–११ डिग्री रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाको रेकर्ड छ । गत वर्ष यही समयमा पोखरामा न्यूनतम तापक्रम १३–१५ डिग्रीसम्म झरेको थियो ।

सन् २०१८ मा १०–१२ डिग्रीसम्म रेकर्ड भएको थियो । उनका अनुसार मनसुन सकिएपछि दिन छोटिँदै गएका छन् । सापकोटाले भने, ‘दिन छोटो भएपछि सूर्यको किरण लामो समयसम्म रहन पाउँदैन र चिसोको महसुस गराउँछ ।’ मंसिर १५ देखि झन् दिन निकै छोटा हुन्छन् र चिसोको मात्रासमेत बढ्छ । यो समय ‘पोस्ट मनसुन’ को हो । मनसुन सकिएपछि पश्चिमी वायुको प्रभाव सुरु हुन्छ, त्यससँगै चिसोसमेत बढ्न थाल्छ ।

‘अब हामी विन्टरमा जाँदै छौं,’ सापकोटाले भने, ‘हिउँदका दिनहरूमा दिनहरू छोटा र रात लामा हुने भएकाले दिनको समयमा चिसोको मात्रा घट्दो क्रममा हुन्छ ।’ केही दिनयता पहाडी क्षेत्रको आकाशमा बादल लाग्ने क्रममा फेरबदल सुरु भएको छ । ‘रातको समयमा आकाशमा बादल हट्ने हुँदा त्यसको असर भोलिपल्ट देखिन्छ,’ सापकोटाले भने, ‘रातभरि बादलले ढाकेको भए आकाश गुम्सिन्थ्यो र बिहानको तापक्रम त्यति धेरै तल झर्ने थिएन, त्यसो हुँदा चिसो बढेको महसुस पनि त्यतिसारो हुन्थेन ।’

राति आकाश सफा रहँदा बिहान र साँझ चिसो बढ्ने उनले बताए । वरिष्ठ मौसमविद् बरुण पौडेलले पश्चिमी वायुको प्रभाव बढेसँगै तापक्रममा गिरावट आउनु नियमित प्रक्रिया भएको टिप्पणी गरे । ‘मनसुनमा पूर्व–पश्चिम वायुको प्रभाव हुन्छ र तापक्रम घटबढ हुने क्रम सुरु हुन्छ,’ उनले भने, ‘दिन छोटा हुन थालेपछि मौसममा बदलाव आउन सुरु हुन्छ, न्यूनतम र अधिकतम तापक्रममा गिरावट आउने भएकाले चिसोको महसुस बढी हुन्छ ।’

महाशाखाले आफ्नो बुलेटिनमा पहाडी क्षेत्रमा आंशिक बदलीबाहेक अन्य भूभागमा मौसम सफा रहने प्रक्षेपण गरेको छ । महाशाखाले हिमपात सुरु भएको उल्लेख नगरे पनि डोल्पा, जुम्ला, मुगु, मुस्ताङ, गोरखा, हुम्ला, मनाङ, रसुवा, धादिङ, दोलखा, सोलुखुम्बु र ताप्लेजुङलगायत उच्च हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार ०८:४४