सूचनाको शक्ति - The Power Of Information

        

ट्रम्पको हारपछि लयमा फर्कियो अमेरिकी नेतृत्व

अबका चार वर्ष राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसमा रहने छिन् उपराष्ट्रपति कमला ह्यारिस (द अमेरिकन बजार)

टेक्सास (अमेरिका) । हारे डोनाल्ड ट्रम्प । नोभेम्बर ३ तारिख मंगलबार दिउँसो मतदान भैरहँदा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘मेरो लागि जित्न सजिलो छ, हार्न कठिन ।’ यसपटक त्यही कठिन ट्रम्पको भागमा पर्यो । व्यापारमा त सधैं नाफा हुँदैन, राजनीतिमा झन् के होस् ? ट्रम्प हार स्वीकार गर्न भने मानिरहेका छैनन् । जुन निर्वाचन प्रक्रियाबाट ट्रम्प जित्न चाहन्थ्ये, हार्दा त्यही प्रक्रियामाथि उनले प्रश्न चिन्ह खडा गरेका छन् ।

आफुमाथि ‘चिटिङ’ भएको र निर्वाचनामा ‘फ्रड’ भएको उनको दाबी छ । खासगरी हुलाकबाट प्राप्त मतपत्रहरुमा अनियमितता भएको उनी बताइरहेका छन् । यस्तै दाबीहरुका साथ उनका सहयोगीहरुले अदालतमा मुद्दाहरु पनि दायर गरेका छन् । निर्वाचनहरुमा अक्सर हुने झिना मसिना ‘फ्रड’ का विषयहरुलाई आधार बनाएर राष्ट्रपति ट्रम्पले एउटा उत्कृष्ट प्रजातान्त्रिक अभ्यासलाई ‘अन्डरमाइन्ड’ गर्न खोजेजस्तो देखिएको छ ।

कतिपय विश्लेषकहरु भन्छन्, ‘यो अमेरिकाजस्तो शक्तिशाली र प्रजातान्त्रिक मुलुकका राष्ट्रपतिलाई सुहाउने कुरा होइन ।’ ट्रम्पले निर्वाचन प्रक्रियामाथि नै प्रश्न चिन्ह उठाएकोमा रिपब्लिकन पार्टीकै कतिपय नेताहरुलाई समेत चित्त बुझेको छैन । अहिलेसम्मको अवस्था हेर्दा, हारेपनि ट्रम्पले बाइडेनका लागि ह्वाइट हाउस सम्मको बाटो सजिलै ‘क्लिएर’ गरिदिने जस्तो देखिँदैन । हार स्वीकार गर्न कठिन भएकै कारण निर्वाचन परिणामपछि पनि अमेरिकी राजनीतिका आगामी केही साताहरु अन्यौलग्रस्त बन्नेजस्तो देखिएको छ ।

जति प्रजातान्त्रिक भनेपनि कहिलेकाहीँ व्यक्तिका अहमका सामुन्ने प्रजातान्त्रिक मुल्य–मान्यता र अभ्यासहरुले घुँडा टेक्छन् । यस्तो हुन पनि सक्छ । तर आजको सत्य के हो भने डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले जित्नका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजको जादुमय नम्बर २७० नघाइ सकेका छन् । र, अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । अमेरिकी राष्ट्रपति छान्ने इलेक्टोरल कलेजमा ५३८ प्रतिनिधि हुन्छन् ।

जसमध्येबाट जसले २७० प्राप्त गर्छ, उसैले राष्ट्रपतिका रुपमा ह्वाइट हाउसको यात्रा तय गर्छ । शुक्रबार राति पेन्सिलभेनिया राज्यमा जितेपछि बाइडेनले ३२ वर्षदेखियको यो यात्रा सुनिश्चित गरेका हुन् । अमेरिकाका ५० राज्यमा जनसंख्याका आधारमा इलेक्टोरल कलेजका प्रतिनिधिहरुको संख्या तोकिएको छ । २ वटा राज्यबाहेक बाँकी ४८ वटा राज्यमा रिपब्लिकन वा डेमोक्रेट पार्टीका राष्ट्रपतीय उम्मेदवार जसले बढी मत ल्याउँछ, ती राज्यका इलेक्टोरल मत उसैको पोल्टामा जान्छन् ।

२७० जादुमय नम्बर प्राप्त गर्दै अरु चार वर्ष ह्वाइट हाउसमा बिताउने राष्ट्रपति ट्रम्पको तीब्र चाहना र आत्मविश्वासमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले ‘ब्रेक’ लगाइदिएका छन् । बाइडेन असाध्यै बलिया, प्रभावकारी र जल्दाबल्दा भएर जितेका होइनन् । एक हिसाबले बाइडेन वासिङ्टनका ‘टेष्टेड’ व्यक्ति हुन् । तैपनि जिते बाइडेनले । बाइडेनले जित्नुको कारण उनी आफुभन्दा पनि राष्ट्रपति ट्रम्प हुन् । ट्रम्पले बितेका चार वर्षमा आफ्नो शाख यसरी गिराए, जसले बाइडेनको राष्ट्रपतीय यात्रालाई सजिलो बनाइ दियो ।

ट्रम्प हार्नुमा उनकै अस्थिर र उत्ताउला व्यवहार तथा टप्पणीहरु जिम्मेवार छन् । बोली, व्यवहार र अस्थीर बानीका कारण सुरुदेखि नै ट्रम्पलाई क्रमशः एकपछि अर्को गर्दै उनका सहयोगीहरुले छोड्दै गए । अन्ततः राष्ट्रपति पद पनि छुट्यो । जस्ता भएपनि र जे गरेपनि ट्रम्प त्यत्ति कमजोर नै चाहीँ भएका रहनेछन् । उनले पाएको मतले यही बताउँछ । सन् २०१६ मा पाएको भन्दापनि बढी मत ट्रम्पले यसपटक पाएका छन् ।

अमेरिकी समाजको मनोविज्ञान पनि बडो विचित्रको र बुझिनसक्नुको छ, जो ट्रम्पको स्वभाव, शैली र नीतिलाई अझै पनि मन पराउँछ । ट्रम्पले गरेको मतको बढोत्तरीले बताउँछ, अमेरिकी समाजको एउटा ठूलो हिस्सा अहिलेपनि उग्र राष्ट्रवादमा विश्वास गर्छ । यसको अर्थ, संविधान, व्यवस्था र अभ्यासहरु उदार भएपनि मान्छेका मनोविज्ञान भने अनुदार हुन सक्दा रहेछन् । कोरोना महामारी ह्याण्डल गर्न अलि नचुकेको भए फेरि पनि ट्रम्पले बाजी मार्न सक्थ्ये ।

त्यसैले कोरोना पनि एउटा प्रमुख कारण हो, जसले ट्रम्पलाई हरायो । र, अर्को कारण हो, बितेका पछिल्ला महिनाहरुमा ‘ब्ल्याक लाइभ्स म्याटर’ (कालाहरुको जीवनले पनि अर्थ राख्छ) का नाममा जागेको आन्दोलन । यी दुई विषयहरुलाई बिर्सने हो भने राष्ट्रपति ट्रम्पले आर्थिकदेखि अन्य कतिपय क्षेत्रमा राम्रै गरिरहेका थिए । र, उग्र राष्ट्रवादीहरुको प्रेम पनि पाएकै थिए । तैपनि व्यापारिक मनोबृत्ति भएका खरा र आक्रमक ट्रम्पको यसपटक केही लागेन ।

२०१६ मा ट्रम्प जसरी आक्रामक भएर आएका थिए, अहिले उनी रक्षात्मक ठाउँमा पुगेका थिए । यसअघिजस्तो मेक्सिको बोर्डरमा पर्खाल लगाउने, इमिग्रेसनमा कडाइ गर्ने, ओबामा केयर खारेज गर्ने जस्ता चर्का मुद्दाहरु यसपटक ट्रम्पसँग थिएनन् । अन्तर्राष्ट्रिय जगतले पनि ट्रम्पलाई भरपर्दा भन्दा डरमर्दा पात्रका रुपमा हेर्दै थियो । बितेका यी चार वर्षमा राष्ट्रपति ट्रम्पका कतिपय व्यवहारबाट रिपब्लिकनकै कतिपय नेताहरु समेत आजीत भएका थिए । जुन राप र तापका साथ ट्रम्प उदाएका थिए, त्यो राप र तापमा उनी आफैंले क्रमशः पानी खन्याउँदै गए ।

ह्वाइट हाउस फेरि परम्परागत राजनीतिमा खारिएका बाइडेनको हातमा परेको छ । भलादमी, अनुभवी, आफ्ना विचार र नीतिहरुमा स्थिर बाइडेन अमेरिकी इतिहासमा अहिले सम्मकै पाको उमेरका राष्ट्रपति हुनेछन् । सन् १९७२ मा २९ वर्षको उमेरमा उनी अमेरिकी सिनेटको सिनेटर भएका थिए । त्यसपछि लगातार सन् २००९ सम्म बाइडेन सिनेटर भए । अमेरिकी इतिहासमा सबैभन्दा लामो समय सिनेटर हुनेहरुको सूचीमा अठारौं नम्बरमा पर्छन् बाइडेन । बाराक ओबामाको राष्ट्रपतीय कालमा बाइडेन सन् २००९ देखि २०१७ सम्म उपराष्ट्रपति पनि भए ।

राजनीतिमा बाइडेन धेरै परिपक्व र अनुभवी छन् । अहिलेका राष्ट्रपति ट्रम्पजस्ता उत्ताउला छैनन् । जीवनमा दुईपटक ब्रेनको सर्जरी गरेका बाइडेनले धेरै दुख सुख देखेका छन् । भावनाका उतार चढावहरु बेहोरेका छन् । र, अमेरिकी मुल्यपनि सायद ट्रम्पभन्दा उनले बढी नै बुझेका छन् । बाइडेनको साथमा छन् उपराष्ट्रपति कमला ह्यारिस, जसले पहिलो महिला उपराष्ट्रपति हुने इतिहास रचेकी छन् । अमेरिका बस्ने हामी नेपालीसँग चीर परिचित नाम हो कमला, जो अबका चार वर्ष बाइडेनसँगै ह्वाइट हाउसमा हुनेछिन् ।

नेपालीलाई नाम उच्चारण गर्न पनि सजिलो हुनेछ । यो हल्का रमाइलो कुरा भयो । फेरि अलि गम्भिर विषयतर्फ नै फर्कौं । सन् २०१६ मा ट्रम्पको जीतलाई राष्ट्रवादी लहरको रुपमा लिइएको थियो । तर चार वर्षमा नै इतिहासले अर्को के पाठ पढायो भने बोलीको राष्ट्रवाद र व्यवहारको राष्ट्रवाद फरक कुरा हो । बोलीका उस्तै ट्रम्प, व्यवहारमा चुके । यसैले हारे । अबका केही वर्ष अमेरिकीहरुले तिमीहरुको राष्ट्रपति यस्तो वा उस्तो भन्ने सायद सुन्नुपर्ने छैन । अमेरिकी नेतृत्व फेरि पुरानै लयमा फर्किएको छ । (सन्जय घिमिरे/नेपालखबर)

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार ०७:५९