सूचनाको शक्ति - The Power Of Information

        

संकटमा उद्योग

रोजिन निर्यात घटेपछि उद्योग चलाउनै मुस्किल

बाँके । रोजिन र टर्पेन्टाइन तेलको बजार भाउ घट्दै गएपछि बाँकेमा सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग संकटमा परेका छन् । बजार भाउ घट्न र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन रोजिन एण्ड टर्पेन्टाइन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालकहरु बताउँछन् ।

खर्च धान्नै मुस्किल भएपछि बाँकेमा पहिलो पटक २०५० सालमा स्थापना भएको खनाल रोजिन एण्ड टर्पेन्टाइन उद्योग बन्द गर्न लागेको सञ्चालक दिवाकर खनालले बताए । ‘खर्च धान्न मुस्किल छ, तीन वर्षदेखि घाटामा चलिरहेको छ । घाटामा कति दिनसम्म चलाउनु ? अब बन्द गर्नुको विकल्प नै छैन,’ सञ्चालक खनालले भने ।

एक हजार ५०० मेट्रिकटन रोजिन उत्पादन क्षमता रहेको उद्योगमा ३०० बढि कामदार कार्यरत छन् । बचेको पुरानो कच्चा पदार्थको काम सकेपछि उद्योग पूर्णरुपमा बन्द गर्ने बताउँदै सञ्चालक खनालले उद्योग बन्द भएपछि उद्योगमा कार्यरत कर्मचारीलाई बिदाई गरिएको पत्र श्रम कार्यालयमा पठाइने बताए ।

बाँकेमा खनालबाहेक, बंगलामुखी, मनकामना, गंगा, लक्ष्मी रोजिन उद्योग सञ्चालनमा रहेका छन् । लक्ष्मी धेरै पहिले बन्द भएर अरुले नै खरिद गरी सञ्चालनमा ल्याएका थिए । यी उद्योगमा झण्डै एक अर्व लगानी रहेको छ । एउटा उद्योगमा न्यूनतम रु ५ करोडदेखि अधिकत्म २५ करोडसम्म लगानी भएको छ ।

हाल सञ्चालनमा रहेका सबै उद्योग करिब बन्द अवस्थामा रहेको जानकारी दिँदै खनालले भने, ‘पुरानो कच्चा सामान सक्ने काम भइरहेको छ । अरु उद्योगले पनि नयाँ कच्चा पदार्थ ल्याउन छोडिसके । उद्योग बन्दकै अवस्थामा छ ।’ रोजिन एण्ड टर्पेन्टाइन नेपालगन्ज भन्सार नाकाबाट निर्यात हुने प्रमुख बस्तुमा पर्छ ।

उद्योग बन्द हुने परिस्थिति बन्नुमा रोजिनप्रति स्वदेशमा अस्पष्ट नीति र रोजिनको प्रमुख बजार भारतमा यसको मूल्य घट्नु हो । बिभिन्न औषधी बनाउन प्रयोग हुने भएकाले भारतमा रोजिनको माग धेरै छ । तीन तहका सरकारलाई वितरण गर्ने गरी कच्चा पदार्थको रोयल्टी बुझाउनुपर्दा महङ्गो हुन गएको उद्योगीहरु बताउँछन् ।

सरकारले सहुलियत नदिएपछि उद्योगमा ताल्चा लगाउनुपर्ने बाध्यता आएको उद्योगीहरुको भनाई छ । सञ्चालक खनालले भने, ‘रोयल्टी बढ्यो, कच्चा पदार्थ ल्याउन लैजान छुटपुर्जीका नाममा अनेक झण्झट हुन थाल्यो । बैंकको ब्याज बढ्यो । अहिले कोरोनाका कारण रोजिनको भाउ भारतमा घटेको छ । यसरी घाटा व्यहोरेर उद्योग चलाउनै मुस्किल भएको छ ।’

तीन वर्षअघि प्रतिकिलो रु.७२ सम्ममा बिक्री भइरहेको रोजिनको मूल्य त्यसयता रु.६० मा झरेको छ । उक्त मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने उद्योगीहरुको भनाई छ । रोजिनको कच्चा पदार्थ पहाडमा पाइने सल्लाहको खोटो हो । सामुदायिक वनबाट उपलब्ध हुने त्यस्तो खोटो संकलनबाट पहाडमा समेत थुप्रै रोजगारी सिर्जना भएको छ ।

रोजिन उद्योग बन्द हुँदा त्यहाँ कार्यरत झण्डै दुई हजार मजदुरको रोजगारी संकटमा परेको छ । नेपालगन्ज भन्सार नाकाबाट निर्यात हुने प्रमुख बस्तु रोजिनले चामल उद्योगकै हविगत व्यहोरेको छ । नेपालगन्ज नाका भएर कुनै बेला बङ्गलादेशसम्म चामल निर्यात गरिन्थ्यो । त्यसका लागि बाँकेमा दर्जनौं चामल उद्योग चौबिसै घण्टा चल्थे ।

बदलिएको समयसँगै अहिले वार्षिक अर्बौको चामल भारतबाट आयात भइरहेको छ । गत आर्थिक वर्षमा मात्र नेपालगन्ज नाका हुँदै साढे ६ अर्बको चामल आयात भएको थियो । लामो समय रोजिन उद्योगमा बिताएका खनालले सरकारको अस्पष्ट नीतिका कारण रोजिनजस्तै बाँकेका अन्य उत्पादनमूलक उद्योग बन्द भएको बताए ।

बाँकेबाट भारततर्फ रोजिन निर्यात घटेको छ । भारततर्फ बार्षिकरुपमा रु.७५ करोडसम्मको रोजिन निर्यात हुँदै आएकोमा तीन वर्षयता घटेर रु.४२ करोडमा झरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा नेपालगन्ज नाकाबाट झण्डै रु.४२ करोड ७६ लाख ७२ हजार मुल्यको रोजिन निर्यात भएको छ ।

त्यसअघि आव २०७५/०७६ मा नेपालगन्ज नाकाबाट रु.५० करोड ८५ लाख मुल्यको रोजिन निर्यात भएको थियो । आव २०७४/०७५ मा रु.५४ करोड ९२ लाख मुल्यकै हाराहारीमा निर्यात भएको थियो । आव २०७३/०७४ मा रु.७३ करोड र आर्थिक वर्ष २०७२/०७३ मा रु.७४ करोड मूल्य बराबरको रोजिन नेपालगन्ज नाकाबाट भारततर्फ निर्यात भएको नेपालगन्ज भन्सारको तथ्यांक छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १०:०९