सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपतीय चुनाव

बाइडेनको अग्रता कायमै, आफूखुशी विजेता घोषणा नगर्न ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनले आफ्नो अग्रतालाई कायमै राखेका छन् । हाल मतगणना भइरहेका पाँच राज्यहरूमध्ये ६ इलेक्टोरल भोट रहेको नेभडामा बाइडेनको अग्रता कायमै छ । फक्स न्यूजका अनुसार त्यहाँ ४९ दशमलव ८ प्रतिशत र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।

ट्रम्पभन्दा बाइडेन यहाँ २२ हजार हाराहारी मतले अघि छन् । यस्तै २० इलेक्टोरल भोट रहेको पेन्सिनभेनियामा पनि बाइडेन नै अघि छन् । यो राज्यमा बाइडेन ४९.६ प्रतिशत र ट्रम्प ४९.३ प्रतिशत मतका साथ प्रतिस्पर्धामा छन् । १६ इलेक्टोरल भोट रहेको जर्जियामा पनि बाइडेनले अग्रता कायम गरेका छन् । ट्रम्पले अग्रता कायम गरेको यो राज्यमा पछिल्लो २४ घण्टायता बाइडेनले झिनो मतले अग्रता कायम गरेका छन् ।

त्यहाँ १ प्रतिशतको अन्तरले बाइडेन अघि छन् । जर्जिया राज्यको कानून अनुसार ०.५ प्रतिशतको मात्र मतान्तर भएमा त्यहाँ फेरि मतगणना हुन सक्छ । १५ इलेक्टोरले भोट रहेको नर्थक्यारोलिनामा भने ट्रम्प अघि छन् । यस्तै ३ इलेक्टोरल भोट रहेको अलास्कामा पनि ट्रम्पले नै अग्रता कायम गरेका छन् । यी स्थानमा ट्रम्पले जित नै भने पनि राष्ट्रपति बन्न सम्भव हुने छैन ।

उनलाई जितका हाल बाइडेनले अग्रता कायम गरेका राज्यमा जित आवश्यक छ । बाइडेनलाई भने मात्रै ६ इलेक्टोरल भोट नै राष्ट्रपति बन्न पर्याप्त हुनेछ । फक्स न्यूजका अनुसार बाइडेनले अहिलेसम्म जितका लागि चाहिने २७० इलेक्टोरल भोटमध्ये २६४ मत ल्याएका छन् भने ट्रम्पले २१४ भोट ल्याएका छन् ।

‘निर्वाचन सकिएको छैन, आफैँ विजेता घोषणा नगर्नोस्’

राष्ट्रपति ट्रम्पको निर्वाचन अभियान समूहले एउटा विज्ञप्ति प्रकाशित गरेर यो निर्वाचन समाप्त नभएको बताएको छ । ‘जो बाइडन विजेता भएको प्रक्षेपण चार राज्यमा अन्तिम नभएको नतिजामा आधारित छ,’ अभियानका वकिल म्याट मोर्गनले भने । मोर्गनले बिनाप्रमाण जोर्जिआमा मतपत्रहरू ‘गलत तरिकाले ल्याइएको’ र पेन्सिल्भेनियामा पर्यवेक्षणहरूलाई ‘अर्थपूर्ण पहुँच’ नदिइएको दाबी गरेका छन् ।

मोर्गनले सञ्चारमाध्यमले आएको एरिजोनामा बाइडनले जित्ने प्रक्षेपणको खण्डन गर्दै नेभाडामा गलत रूपमा हजारौँ मतदान गरिएको दाबी गरे । ‘ह्वाइट हाउस दाबी गर्न बाइडनले यी राज्यका भर परेका छन् तर निर्वाचन सम्पन्न हुँदा राष्ट्रपति ट्रम्प पुनर्निर्वाचित हुनेछन्,’ उनले भने । ट्रम्पले ट्वीटमार्फत पनि बाइडेनलाई आफूखुशी विजेता घोषणा नगर्न चेतावनी दिएका छन् ।

शनिबार बिहान ट्वीट गर्दै ट्रम्पले लेखेका छन्, ‘बाइडेन राष्ट्रपतिमा गलत दाबी नगर । त्यस्तो दाबी म पनि गर्नसक्छु । कानुनी प्रक्रिया भर्खर सुरु भएको छ ।’ अवैधानिक भोटहरु गनेर डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनलाई जिताउन खोजिएको आरोप लगाउँदै ट्रम्पले मतगणना रोक्न माग गर्दै चार वटा राज्यमा मुद्दा दायर गरेका छन् । तर, निर्वाचनमा धाँधली भएको प्रमाण दिन नसक्दा उनका आरोपहरू पुष्टि हुने अवस्था छैन ।

अमेरिकी निर्वाचन प्रणालीअनुसार, आफ्नो मतपत्र हुलाकमार्फत पनि पठाउन सकिने, देशभित्र अनुपस्थित भए देशवाहिरबाट पनि आफ्नो देशको राष्टपतिका लागि मत दिन सकिने संवैधानिक व्यबस्था छ । सोही व्यवस्था अनुसार त्यहाँ यसपटक १० करोडभन्दा बढी अमेरिकीले हुलाकमार्फत भोट हालेकाले अन्तिम मतपरिणाम आउन ढिलाई भइरहेको छ । यसैकारण पनि अन्तिम परिणामको अनुमान लगाउन सकिने अवस्था छैन ।

अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्वि–दलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्याउन सक्छन् । अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो ।

अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३–३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ । त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९(२९ सिट छ ।

इलिनोइस र पेन्सिनभेनियासँग २०–२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ । फ्लोरिडा (२९), पेन्सिनभेनिया (२०), मिसिगन (१६), जर्जिया (१६), नर्थक्यारोलिना (१५), मिनासोटा (१०) र विस्कोन्सन (१०) राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरू हुन् । अमेरिकी चुनावको औपचारिक परिणामका विभिन्न चरणहरू हुन्छन् ।

जस्तै, १० नोभेम्बरमा राज्यहरूले इलेक्टोरल मत प्रमाणीकरण गर्ने, ८ डिसेम्बरसम्म केन्द्रबाट ५० वटै राज्यमा प्राप्त मतको प्रमाणीकरण गरिसक्ने, १४ डिसेम्बरमा प्रमाणित भएका प्रतिनिधिहरूले सबै अमेरिकी राज्यको राजधानीमा गई आआफ्नो मत हाली आधिकारिकता दिलाउनुपर्छ । राज्यहरूको आवश्यक प्रक्रिया पूरा भएपछि आगामी ६ जनवरीमा सबै राज्यहरूको इलेक्टोरलको मत संघीय राजधानी वासिङ्टन डीसीमा अमेरिकी कंग्रेसमा मत गणना गरी औपचारिक चरण पूरा हुन्छ ।

सम्पूर्ण चरण पार गरेपछि २० जनवरीमा अमेरिकी नयाँ राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँछन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन ५३८ रहेको इलेक्टोरल कलेजको मतमध्ये कम्तीमा २७० ल्याउनुपर्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ०८:४५