सूचनाको शक्ति - The Power Of Information

        

नाग्म–गमगडी सडक स्तरोन्नतीमा लापरवाही गर्ने ठेकेदारलाई कारबाही

जुम्ला । नाग्म गमगडी सडक स्तरोन्नतीमा लापरवाही गर्ने ठेकेदारलाई कारबाही गरिने भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर प्रमुख लिला भण्डारीले नाग्म गमगडी सडक स्तरोन्नती कार्य शिघ्र सम्पन्न गर्न पहल भइरहेको छ ।

संघीय संसदको विकास समितिका सभापति कल्याणी खड्कासँग सिजाबासीले सडक स्तरोन्नतीमा चरम लापरवाही भइरहेको गुनासो गरेका थिए । केही ठेकेदारले काम छाडेर गएपछि सो सडक स्तरोन्नतीमा ढिलाई भएको कार्यालय प्रमुख भण्डारीले बताए ।

संघीय सांसद् गजेन्द्रबहादुर महत नेतृत्वको टोली सडक डिभिजन कार्यालयमा पुगेर सडक स्तरोन्नतीमा भइरहेको लापारबाहीको बारेमा गम्भीर बन्न सुझाव दिएको थियो । नेकपाका कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले सांसद महतको रोहबरमा नाग्म गमगडी सडकमा उत्पन्न समस्या समाधान गर्ने प्रतिबद्धता कार्यालय प्रमुख भण्डारीले बताए ।

कामै नगरेर भागेका ठेकेदार बहादुरसिंह लामालाई तुरुन्तै सूचना दिने र काम निरन्तर गराउने कार्यालय प्रमुख भण्डारीले भनेका छन् । नेता धितालले अटेर गरेमा कार्वाही अगाडि बढाउने र नाग्मदेखि माथिल्लो बाँकी रहेको ५ किलोमिटर सडकको काम तत्काल गराउने आश्वासन दिएको बताए ।

ठेकेदार कृष्ण खड्काबाट पेटी ठेक्का लिएका जुम्लाका राजुसिंह र तारासिंह कठायतलाई काम गर्न बाँकी ५ किलोमिटर सडक निर्माणको काम तत्काल शुरु गर्न लगाउने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । गत बर्षको ५२ करोड बजेट मध्ये १० करोड मात्र खर्च भएको थियो । बाँकी ४२ करोड रुपैयाँ कामै नभएर फ्रिज भएको थियो ।

यो बर्ष २३ करोड १३ लाख रकम आबश्यक छ । कार्यालय प्रमुख भण्डारीले भने, ‘अपुग रकम उपलब्ध गराउन माग गरिएको छ । माननीय महतलाई समेत ताकेता गरिदिन आग्रह गरेका छौँ ।’ कार्यालय प्रमुख भण्डारीले सडक ग्राबिलिङ गर्न रोलर र पानी ट्याङ्कर नभई पास नहुने र मापदण्ड नपुगेका सडक पास नगर्ने बताए ।

सबै सरोकारवालहरुको सहभागितामा सडकको अनुगमन गर्ने बताउँदै उनले चालु बर्षमा ग्राबिलिङको काम सकेर आउदो बर्ष पिजको काम सुरु गर्न प्रयास भइरहेको बताए । सांसद महतले नाग्म–गमगडी सडक स्तरोन्नतीमा भइरहेको लापरवाहीबारे सचेत रहन सडक डिभिजन कार्यालयलाई आग्रह गरेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार १४:३०