सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय तहको नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अहिलेलाई कार्यान्वयन नगरि यथास्थितिमा राख्न आज उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा परेको छ ।

यस अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशको टुङ्गो नलागेसम्म यो प्रारुप कार्यान्वयन नगर्न आदेश दिएको हो । यस प्रारुप कार्यान्वयन नगराउन भागवता अर्यालसमेतले पाठ्यक्रम विकास केन्द्र समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । नेपालको संविधान अनुसार विद्यालय तहको शिक्षा पालिकाको एकल अधिकारको कार्यक्षेत्र भएको रिट निवेदनमा जिकिर गरिएको थियो ।

मुद्दाको सुनुवाइका लागि यही कात्तिक २६ गते पेशी तोकिएको छ । निवेदनकका तर्फबाट अधिवक्ताहरु लीलामणि पौडेल र माधवकुमार बस्नेतले बहस गरेका थिए । सरकारले संविधान र सङ्घीयता तथा समृद्धिको मर्मअनुसार त्यस प्रारुप ल्याएको थियो । निजी विद्यालय सञ्चालकले तयारी नपुगेकाले पुरानै पाठ्यक्रम लागू गर्न माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार ११:५६