दार्चुला । खेतबारीको काम सकियो । सधैं खेतबारीको काम सकेर रोजगारीका लागि भारतका सीमावर्ती क्षेत्रमा मजदुरीमा जाने लेकम गाउँपालिका–४ का ३४ वर्षीय हरिष (स्रोतको अनुरोधमा नाम नखुलाइएको) यो वर्ष रोजगारीका लागि भारत जान सकेका छैनन् । उनीजस्तै पचासौं युवा खेतबारीको काम सकेर बर्सेनि मजदुरीका लागि सीमावर्ती भारतीय क्षेत्रमा जाने गर्दथे ।
तर यो वर्ष कोरोनाका कारण सीमा (नदी) जोड्ने पुलहरु बन्द हुँदा उनीहरु भारत जान पाएका छैनन् । कोरोनाको कारण गत चैतमै घर फर्किएका हरिषजस्तै कयौं युवा भारत जान सकेका छैनन् । ‘भारतबाट कमाएको घर खर्चमै सकियो, नेपालमा मजदुरी गर्न पाइँदैन, कसरी घर खर्च चलाउने ?’ उनी दुखेसो पोख्छन् । तर सबैको अवस्था हरिषको जस्तो छैन । नेपाली युवा लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जौलजिवी (महाकाली नदी किनारका बस्तीहरु) बाट रातिराति ट्युबबाट भारत छिर्ने गरेको तथ्य खुलेको छ ।
हरिषलाई पनि राति महाकाली तरेर भारत जाने प्रस्ताव नआएको होइन तर भारततिर भारतीय सीमा सुरक्षा बलको हात परे नराम्ररी पिटाइ खानुपर्ने डरले उनले भारत पस्ने दुस्साहस गरेनन् । ‘कयौं मानिसहरु रातिराति नदी तरेर भारत जान्छन् तर म गएन, कुनै दिन पुल खुले काम खोज्न भारत जान्छु,’ उनले भने । कोरोना प्रभावका कारण लामो समयदेखि नेपाल–भारत जोड्ने सीमानाका बन्द रहेको अवस्थामा राति ट्युबबाट नेपाल–भारत आवतजावत भइरहेको भारतीय सञ्चार माध्यमहरुले पनि समाचार बनाउन थालेका छन् ।
महाकाली नदीको पानी वर्षादको भन्दा निकै कम रहेकाले नदीबाट राति ट्युबबाट नेपाल–भारत आवतजावत भइरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । नेपालको बाकु र भारतको द्वालसेरा क्षेत्रमा महाकाली नदीमा राति ट्युबबाट सीमापार गर्ने तथा अवैध सामानको तस्करी भइरहेको भारतको द्वालसेराका ग्राम प्रधान प्रेम रामले जानकारी दिएका छन् । गत मंगलबार राति मात्रै करिब २० जना नेपाली ट्युब तरेर रातिको समयमा भारत पसेका ग्राम प्रधानको दाबी छ ।
राती ट्युबबाट आवत जावतले कोरोना संक्रमणको जोखिम बढाएको पनि बताइएको छ । हालसम्म ट्युबबाट हुने आवतजावत सुरक्षाकर्मीको नजरमा नपरेको र आवतजावत गरेको पाइएमा कडा कारबाही गरिने पिथौरागढका प्रहरी प्रमुख एसपी प्रीति प्रियदर्शनीले सञ्चार माध्यमहरुलाई प्रतिक्रियासमेत दिएका छन् । निर्माण कार्यहरु सञ्चालन गरिएकाले भारतीय ठेकेदारहरुले नेपाली कामदारसँग सम्पर्क गरी बोलाउने गरेका सीमा क्षेत्रका नेपालीहरु बताउँछन् ।
नेपालमा रोजगारीको अवसर न्यून रहेकाले नेपाली कामदारहरु कामको खोजीमा पनि हिउँद सिजन सुरु भएसँगै भारत जान थालेका हुन् । उत्तराखण्डको बेरिनायग क्षेत्रमा काम सञ्चालन भइरहेकाले नेपाली कामदारहरुलाई बोलाएको जौलजिविका अर्का स्थानीय बताउँछन् । नाम नबताउने ती स्थानीयले कामको सिलसिलामा भारत जाने तयारी गरेको बताएका छन् । ‘नाका खुलेका बेला नाकाबाटै जाने तयारी छ, जान दिएन भने महाकाली नदीमाथिबाटै पनि जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्वदेशमा रोजगारीका अवसर न्यून छ, भारत जानुपर्ने बाध्यता छ ।’
भारतले नेपाल–चीन सीमासम्मको सडक विस्तार गरिरहेकाले उक्त क्षेत्रमा पनि कामदार आवश्यक रहेकाले नेपाली कामदारहरुलाई भारतीय ठेकेदारले बोलाउने गरेका छन् । केही नेपाली कामदार अघिल्लो महिना उक्त सडकमा काम गर्न गएका छन् । सीमा नाका बन्द रहेकै बेला नेपाली कामदारहरु उक्त सडकमा काम गर्न गएका हुन् ।
सत्यपाटी ।