काठमाडौं । भारतीय पत्रकार अर्नबल गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । भारतीय टेलिभिजन रिपब्लिकका संस्थापक तथा प्रधानसम्पादक गोस्वामीलाई आत्महत्या दुरुत्साहनको अभियोगमा बुधबार पक्राउ गरिएको थियो ।
आत्महत्या दुरुत्साहन मुद्दामा गोस्वामीसँगै अन्य दुई जनालाई न्यायिक हिरासतमा पठाइएको छ । गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । त्यसको सुनुवाइ आज हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पत्रकार गोस्वामीमाथि अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ।
पत्रकार गोस्वामी र अन्य दुई जनाले इन्टेरियर डिजाइनरको पैसा नदिएको र उनीसहित उनकी आमाले आत्महत्या गर्नु परेको भन्दै घटनाको पुनः छानबिनका लागि सीआईडीले आदेश दिएको थियो ।
सुसाइड नोटमा आफूले पाउनुपर्ने पाँच करोड ४० लाख भारु नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए । पत्रकार गोस्वामीलाई प्रहरीले पक्राउ गर्दा निकै दुव्र्यवहार गरेको उनका वकिलले आरोप लगाएका छन् ।
उनले अर्नबको गिरफ्तारीको जानकारी उनकी पत्नीलाई समेत नदिइएको आरोप लगाएका छन् । वकिलका अनुसार प्रहरीले गोस्वामीलाई दुई घन्टा निर्घात कुटपिट गरेको थियो । अनि त्यो समयमा उनको घर पनि घेरिएको थियो ।
कुटपिटबाट गोस्वामीको बायाँ हातमा घाउ भएको वकिलको दाबी छ ।
सत्यपाटी ।