सूचनाको शक्ति - The Power Of Information

        

विकास

‘औद्योगिक विकास’मा फड्को मार्दै खजुरा, तीन वर्षभित्रै ‘खजुरा औद्योगिक ग्राम’

बाँकेको खजुरामा निर्माण हुने औद्योगिक ग्रामको स्केच ।

बाँके । पश्चिमको ठुलो आर्थिक शहर नेपालगन्जदेखि नजिकै रहेको यो गाउँपालिकामा कुनै बेला विमानस्थल थियो । त्यहाँको विमानस्थल अहिले तस्विरमा सीमित भए पनि अन्य विकासका पूर्वाधार भने धमाधम तयार हुँदैछन् ।

कृषि एवं पशु तालिम केन्द्र, कपास विकास समिति, जनक शिक्षा सामाग्री लगायतका उच्चस्तरका सरकारी कार्यालय पहिल्यैदेखि खजुरामा छन् । पछिल्लो समय शिक्षा, स्वास्थ्य, कृषि र औद्योगिक क्षेत्रमा खजुराले फड्को मार्दैछ । खजुरा गाउँपालिका अहिले आफूलाई देशभरीकै उत्कृष्ट गाउँपालिका बनाउने दौडमा लम्किएको छ ।

नयाँ नेपाल भनेर चिनिने बाँकेको पनि नयाँ ठाउँ खजुरा हो । वि.स. २०२ को दशकमा पुनर्वास वस्तीको रुपमा विकास गर्न शुरु गरिएको खजुरा कुनै समय नेपालगन्जपछिको दोश्रो व्यापारिक केन्द्रको रुपमा रहेको थियो । कृषिलाई केन्द्रमा राखेर इजरायली प्राविधिकहरुले नक्सांकन गरेको पुनर्वास वस्ती अहिले खजुरा बनेको छ ।

‘खजुरालाई देशभरकै उत्कृष्ट गाउँपालिका बनाउने अभियानमा छौं,’ गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति भन्छन् । देशकै ठुलो कपास खेतीको स्थान, कृषि अनुसन्धान केन्द्र, क्यान्सर अस्पतालजस्ता कारणले चिनिएको खजुरा गाउँपालिका अहिले हरित शहर बन्ने दौडमा लागेको छ ।

प्रदेश नं ५ कै नमूनाको रुपमा निर्माण गर्न लागिएको १ हजार ५०० मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने क्षमताको शित भण्डार करिब ९ करोड लगानीमा तयार हुने गरि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएर निर्माण कार्य सुरु भइसकेको छ ।

खजुरामा निर्माणाधीन औद्योगिक ग्रामको अवलोकनका क्रममा उद्योग मन्त्रालय तथा गाउँपालिकाको टोली ।

 

गाउँपालिकाकै गौरवको आयोजनाका रुपमा रहेको शित भण्डार खजुरा–५, उढरापुरस्थित १ बिगाह ७ कठ्ठामा निर्माण हुन लागेको हो । अध्यक्ष कक्षपतिले शित भण्डार र औद्योगिक ग्रामको काम ‘फाष्टट्रयाक’मा गर्नुपर्नेमा जोड दिँदै छिटोभन्दा छिटो काम सकेर सरकारी अभियानलाई सघाउनुपर्ने बताए ।

उनका अनुसार बाँके जिल्लामै पालिकास्तरमा बन्दै गरेको एक मात्र औद्योगिक ग्रामको डिपिआरपछि निर्माण प्रक्रिया शुरु भएको छ । पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागतमा तारबार तथा चौकीदार भवन निर्माण कार्य भइरहेको छ ।

बाँकेको खजुरा गाउँपालिका–६ मा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्रामको मंगलबार उद्योग मन्त्रालयको टोलीले समेत अवलोकन गरेर फर्किइसकेको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

उनले ३१ करोड ३० लाख २१ हजार ४७३ को लागत अनुमान गरेको उक्त औद्योगिक ग्राम केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण हुने र निकट भविष्यमै लगानी सम्मेलन गर्ने तयारी भएको समेत जानकारी दिए ।

अवलोकनमा आएको लगानी वोर्ड तथा मन्त्रालयको टोलीले खजुरामा निर्माण हुने औद्योगिक ग्रामको काम अगाडि बढाउँदै स्थानीय सरकारले पनि उद्योग नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएको छ ।

अवलोकनका क्रममा उद्योग मन्त्रालयको टोलीलाई जानकारी गराउँदै गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपति लगायतको टोली ।

करीब २१ बिगाहा क्षेत्रफलमा निर्माण हुने उक्त औद्योगिक ग्रामको प्रदेश सांसद आइपी खरेल, लगानी वोर्डका कार्यकारी प्रमुख सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिजाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत लगायतको टोलीले अवलोकन गरेको हो ।

अवलोकनमा पुगेको टोलीलाई गाउँपालिका अध्यक्ष कक्षपतिले हालसम्म भएको कार्यप्रगतिबारे जानकारी दिँदै ३ वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिए । उनले ठूला, मझौला र साना उद्योग रहने गरी निर्माण गर्न गइरहेको उक्त औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगहरुले आउने इच्छा व्यक्त गरेको बताए ।

हालसम्मको कामको प्रसंसा गर्दै टोलीले आर्थिक, प्राविधिक तथा भइपरी आउने सबै किसिमका सहयोग गर्ने विश्वास दिलाउँदै पछि आउन सक्ने विभिन्न किसिमका चुनौतीको सामना गर्न अहिलेदेखि नै योजना बनाउन सुझाव समेत दिए ।

द्रुतगतिमा निर्माण भइरहेको औद्योगिक क्षेत्रका लागि उद्योगी आकर्षित गर्न निकट भविष्यमै लगानी सम्मेलन गरिने पनि गाउँपालिका अध्यक्ष कक्षपतिले बताए । लगानी सम्मेलन मार्फत देशभरका लगानीकर्ता खोजिने पनि अध्यक्ष कक्षपतिको भनाई छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १०:५८