सूचनाको शक्ति - The Power Of Information

        

छोरीको खातामा मासिक १०० रुपैयाँ

दाङ । तुलसीपुर उपमहानगरपालिकाले छोरीको आर्थिक र सामाजिक सशक्तीकरणका लागि जन्मेदेखि हरेक महिना १०० रुपैयाँ दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ । कार्यपालिकाको ९५औं बैठकले स्मार्ट छोरी विहेबारी बीस वर्षपारि कार्यविधि पारित गरेसँगै अब उक्त योजना लागु हुने भएको छ ।

कार्यविधिमा उल्लेख भएअनुसार २०७७ साउन १ पछि जन्मिएका उपमहानगरभित्रका हरेक छोरीको बैक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिइन् । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिनभित्र अनिवार्यरुपमा जन्मदर्ता गराउनुपर्ने र बालिकाको अभिभावकले बैंकमा खाता खोलेर खाता नम्बर उपमहानगरलाई उपलब्ध गराउनुपर्नेछ ।

खाता उपलब्ध भएपछि रकम जम्मा हुने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिअनुसार जन्मेको पहिलो महिनामा एक हजार २०० रुपैया र त्यसपछि प्रत्येक महिना १०० रुपैयाँका दरले खातामा रकम जम्मा हुनेछ । यो क्रम २० वर्षसम्म चल्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ०९:५६