सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध विरूद्धको स्वीप अप्रेसनको क्रममा २८ जनालाई पक्राउ गरेको छ। लागूऔषधको कारोवार गर्ने गिरोहलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अप्रेसनको क्रममा उनीहरू पक्राउ परेका सुनसरी प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा लागूऔषधका मुख्य कारोबारी र गिरोहमा आवद्ध व्यक्तिहरू भएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीले विशेष गरी नेपाल-भारतको खुल्ला सीमा र त्यसको आडमा हुँदै आएको आगूऔषधको कारोवार निस्तेज पार्न स्वीप अप्रेसन चलाउदै आएको जनाएको छ।
बैशाख यता दशैंको अवधिसम्म २८ जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख कमल थापाले बताए। उनका अनुसार पक्राउ परेका मध्ये २४ जना पूर्पक्षका लागि थुनामा गएका छन् भने ३ जना अदालतबाट धरौटीमा रिहा हुँदा १ जनालाई अभिभावकको जिम्मा लगाइएको छ।
सुनसरी प्रहरीका अनुसार स्वीप अप्रेसनको क्रममा पक्राउ परेकाहरूमा अधिकांश युवा उमेर समूहका व्यक्तिहरू रहेका छन्। उनीहरूको साथबाट विभिन्न स्थान र समयमा ठूलो परिणाममा लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ।
सुनसरी प्रहरीका अनुसार स्वीप अप्रेसनका क्रममा पक्राउ परेका कतिपय किशोरहरूअरुको उक्साहट र आर्थिक लाभको लोभमा कुलतमा फसेका पाइएको छ।
त्यस्ता व्यक्तिको हकमा प्रहरीले बानी र व्यवहार सुधार्न सम्वन्धित अभिभावकको जिम्मा समेत लगाउने गरेको प्रहरीले जनाएको छ। प्रहरीले कारोबारीको चेन तोड्न र गिरोह समात्न लागूऔषधमा संलग्न व्यक्तिहरू पक्राउ गर्न उनीहरूकै सहयोग समेत लिने गरेको छ।
प्रहरीका अनुसार स्वीप अप्रेसन समेत गरी कात्तिक ५ गते सम्म ८४ जना पक्राउ परेका छन्। ५४ वटा मुद्दा संख्यामा पक्राउ परेका ८४ जना मध्ये ४१ जना पुर्पक्षका लागि थुनामा रहँदा १८ जना धरौटीमा रिहा भएका छन्।
सुनसरी प्रहरीका अनुसार २५ जना माथि अनुसन्धान जारी छ।
सत्यपाटी ।