सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

जुवाडे पक्राउ प्रकरण : कारबाहीमा प्रहरीको मौनता

बाँके । नेपालगन्जमा बाँके प्रहरीकै संरक्षणमा मिनी क्यासिनो झैं ‘जुवा अखडा’ चलिरहेको गुनासो बढिरहेका बेला गत बुधबार एउटा ‘जुवा अखडा’मा प्रहरीले छापा मार्यो । उक्त ‘जुवा अखडा’बाट २९ लाख ४८ हजार ७०० रुपैयाँसहित १० जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गर्यो ।

पक्राउ परेकालाई जुवा ऐनअन्तरगत मुद्दा चलाएर कारबाही अघि बढाइने प्रहरी उपरीक्षक रानाले बताएका थिए । तर, अहिलेसम्म उनीहरूमाथि के कस्तो कानूनी कारवाही अघि बढाइयो भन्नेबारे बाँके प्रहरी मौन रहेको छ । प्रहरीले जुवाखालबाटै उनीहरूलाई पक्राउ गर्ने वित्तिकै यहाँका राजनीतिक दलदेखि उच्च अधिकारीहरूले उनीहरूलाई छोडन प्रहरीलाई दबाब दिन थालिसकेको खुलासा भएको थियो ।

त्यहि दबाबमा परेर होला सायद प्रहरीले अहिलेसम्म उनीहरूमाथि कारवाही चलाउन सकेको दखिँदैन । नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानूनी कारबाही हुने जनाएको प्रहरी अहिले मौन छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरुले पनि अब जेल जानुपर्ने हुनसक्छ ।

मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । जुवा खेल्नेमात्र नभई अरुले खेल्दा च्याखे थाप्नेलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख छ । जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था छ । तर, बाँके प्रहरी भने उनीहरूमाथि हालसम्म कुनै कानूनी प्रक्रिया अघि बढाएको देखिँदैन ।

यस बिषयमा बाँके प्रहरीले कुनै पनि प्रतिक्रियासमेत दिएको छैन । बाँकेमा चाडपर्व लक्षित ‘जुवा अखडा’ सञ्चालन हुँदा कतिपयको उठीबास हुने अवस्था सिर्जना भएको पुगेको छ । ‘जुवा अखडा’हरुको संरक्षण गर्दै प्रहरीले नै घुमुवामार्फत कमिसन असुल्दै आएको पनि जानकारहरू बताउँछन् । प्रहरीको तल्लो तहदेखि माथिल्लो तहसम्मै सेटिङ भएकोले ती ‘जुवा अखडा’ निर्धक्क चलिरहेको प्रहरी स्रोतले नै बताएको छ ।

जिल्ला प्रहरी स्रोतका अनुसार पछिल्ला केही महिनायता जुवाखालबाटै मासिक तीनदेखि चार लाखसम्म प्रहरीलाई आम्दानी हुँदै आएको र उक्त रकम पद अनुसार बाँडफाँड हुने गरेको छ । नियमित पैसा बुझाउने ‘जुवा अखडा’लाई घुुमुवा र सादा पोसाकमा खटाइएका प्रहरीले गैरकानुनरुपमा संरक्षण गर्दै आएको आरोप जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी मुख्यालयसम्म पुग्ने गरेको प्रहरी स्रोतले बतायो ।

नेपालगन्जका भृकुटीनगर, फुल्टेक्रा, राँझा, कोहलपुरको चप्परगौडी, मदनचौक, खजुराको ‘सी’गाउँ, ‘इ’गाउँ लगायत क्षेत्रभित्रका विभिन्न स्थानमा चाडपर्व लक्षित ‘जुवा अखडा’ सञ्चालनमा रहेको नाम नबताउने सर्तमा एक जना घुमुवाले बताए । नेपालगन्जका विभिन्न क्षेत्रमा प्रहरीकै संरक्षणमा चलेका ‘जुवा अखडा’मा जुवाडे र प्रहरीबीच कमिसनमा ‘बार्गेनिङ्ग’ नमिलेपछि छापा मार्ने गरेका समाचारहरु पनि आइरहेका छन् ।

एक जना प्रहरीकै शब्दमा ‘दशैंलाई लक्षित गरेर सञ्चालन गरिएका ‘जुवा अखडा’ प्रहरीको कमाउधन्दाका रुपमा परिणत भएका छन् । तल्लो तहका प्रहरी कर्मचारी माथिको आदेश पालकमात्रै हुन् । अहिले दशैंका बेला शान्ति सुरक्षा कायम गर्न घुमुवा र सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीहरु सूचना संकलनको सट्टा ‘जुवा अखडा’हरुको संरक्षण गरी कमिसन संकलनमा व्यस्त हुनु राम्रो होइन ।’

त्यसो त जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव निरिक्षक (सई) बम रावललाई लामो समयदेखि जिल्ला प्रहरी कार्यालय बाँकेमा घुमुवा इन्चार्जको जिम्मेवारी दिइएको छ । बाँकेमा तीन जना एसपी फेरबदल हुँदासमेत उनले घुमुवाको इन्चार्ज भएरै काम गरिरहेका छन् । उनले जिल्ला प्रहरी कार्यालय प्युठानमा दरबन्दी रहेको भए पनि लामो समयदेखि बाँकेमै रहेर घुमुवा इन्चार्जको जिम्मेवारी सम्हालिहेका छन् ।

एसपी अरुण पौडेल हुँदा घुमुवा इन्चार्ज बनेका रावललाई एसपी बीरबहादुर वली र हालका प्रहरी प्रमूख एसपी ओमबहादुर रानाले समेत उनैलाई घुमुवा इन्चार्ज बनाएपछि बाँके प्रहरीभित्र एक समूह असन्तुष्टसमेत देखिन्छ । सई रावलले घुमुवा प्रहरीलाई ‘जुवा अखडा’ संरक्षणमा खटाइएको अस्वीकार गरे । ‘हाम्रो उद्देश्य नै चोरी तस्करीजस्ता गलत कार्यहरु रोक्नु र गलत कार्य भए नभएको सूचना संकलन गर्नु हो । हामीले त्यसो गर्नै सक्दैनौं,’ उनले भने ।

प्रहरीले शान्ति सुरक्षाका लागि दशैंलाई लक्षित गरेर निगरानी टोलीहरु परिचालन गरिरहेका बेला घुमुवा प्रहरीले त्यसो गर्न नसक्ने सई रावलले बताए । पछिल्लो समय जुवाडेहरूले नेपालगन्जलाई ‘इजी–जोन’को रूपमा समेत प्रयोग गर्न थालेका छन् । प्रहरी स्रोतका अनुसार जुवाडेहरुलाई प्रहरीले केही सजिलो गरेसँगै नेपालगन्जलाई जुवाडेहरूले सुरक्षित क्षेत्रको रूपमा प्रयोग गर्न थालेको जानकारहरु बताउँछन् ।

बाँकेमा अहिलेसम्म पक्राउ परेका साना ठूला जुवाडेहरु पक्राउपछि कारबाही नै नभएर सहजै छुट्ने गरेकोमा बुधबार समातिएका १० जना जुवाडेहरु पनि कारबाहीबाट सहजै उम्किने प्रहरी निकट स्रोत बताउँछ । यद्यपी बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले भने प्रहरीको संरक्षणमा ‘जुवा अखडा’ सञ्चालन हुने भन्ने हल्ला निराधार रहेको र प्रहरीबाट गैरकानुनी कार्य कदापी हुन नसक्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतवार १२:३३