सूचनाको शक्ति - The Power Of Information

        

टेकु अस्पतालले पनि कोभिडका बिरामी उपचारका लागि शुल्क तोक्यो

काठमाडौं । टेकु अस्पतालका रुपमा चिनिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड बिरामीको उपचारका लागि लाग्ने शुल्क सार्वजनिक गरेको छ।

अस्पतालले कोरोना संक्रमण भएका व्यक्तिको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम सार्वजनिक गरेको छ।

अस्पतालका निर्देशक डा सागर राजभण्डारीले सरकारले कोभिड बिरामीका उपचारका लागि दिँदै आएको रकम नदिने भएपछि बाध्य भएर उपचार  खर्च  लिनु परेको बताए।

उनले भने,‘सरकारले उपचार खर्च नदिने, अस्पतालले आफै बिरामीसँग लिनु भनेपछि शुल्क विवरण तोकेका हौँ। तर, उपचार खर्च दिन नसक्ने,गरीब बिरामीको उपचार भने निशुल्क नै हुन्छ।’ उनले अन्य अस्पतालमा निकै कम शुल्क तोकेको दावि गरे।

अस्पतालमा  निशुल्क उपचार पाउने सबै बिरामीको विवरण सार्वजनिक गर्ने उनले बताए। अस्पतालले सार्वजनिक गरेको उपचार शुल्क विवरण अनुसार भेन्टिलेटरसहितको आईसीयूमा उपचार गर्नुपर्ने कोभिड बिरामीले दैनिक १५ हजार रकम तिर्नुपर्नेछ। ५० हजार धरौटी रकम तोकिएको छ।

आइसियु मात्र चाहिने र मध्यम जटिल (क्याविन आइसोलेसन) मा उपचार चाहिने   बिरामीले ३० हजार धरौटी रकम र दैनिक सात हजार ५ सय उपचार खर्च तिर्नुपर्नेछ।

मध्यम जटिल अवस्थाका संक्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा बस्दा २० हजार धरौटी रकम र   दैनिक ३५ सयका दरले उपचार शुल्क तिर्नपर्ने छ।

विपन्न, जेष्ठ नागरिक(७० वर्षभन्दा माथि), अति अपाङता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था र आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट हुने अस्पतालले जनाएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले निशुल्क कोरोना परीक्षण र उपचार बन्द गरेको छ।

स्वास्थ्य मन्त्रालयले कार्तिक २ गतेबाट लागु हुने गरी सबै कोभिड अस्पताललाई कोरोना संक्रमितको उपचार सशुल्क गर्न निर्देशन दिएका थियो। स्वास्थ्य मन्त्रलायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मन्त्रालयले कार्तिक २ गतेभन्दा पछिको कोभिड उपचार गरेवापत्को सोधभर्ना नदिने बताए।

नेपालमा हालसम्म १ लाख ७० हजार ७४३ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये एक लाख ३१ हजार २२२ जना निको भइसकेका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतवार ०९:५२