सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा

डेढ घन्टामै कक्षा १२ को परीक्षा सकिने, ४१०५ परीक्षा केन्द्र कायम

फाइल तस्वीर

काठमाडौं । कोरोना त्रासको कारण रोकिएको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु हुँदैछ । यस वर्ष परीक्षाका लागि पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । डेढ घन्टामै हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिन लागेको हो । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ । २० प्रतिशत अंक आन्तरिक मूल्यांकनबाट थपिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

शर्माका अनुसार पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने छ । सरकारले परीक्षा सञ्चालनमा सहमति दिएपछि ९ मंसिरदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको हो । ८ वैशाखदेखि सञ्चालन हुने तय भएको परीक्षा कोरोना संक्रमण बढेपछि स्थगित भएको थियो । नयाँ तालिकाअनुसार बिहान ८ देखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस वर्ष कक्षा १२ को फारम भरेका सबै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ  । त्यसअनुसार देशभर चार हजार १०५ वटा परीक्षा केन्द्र कायम भएका छन् । विद्यार्थी आफैँले पढेको विद्यालयमा पुग्न सम्भव नभएमा हाल विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयबाटै परीक्षा लिने व्यवस्थासमेत मिलाइएको छ ।

यस वर्ष कक्षा–१२ मा चार लाख ३३ हजार ६०० परीक्षार्थी छन् । सरकारले एसइई र कक्षा ११ का विद्यार्थीका लागि भने परीक्षाबिनै माथिल्लो कक्षामा अध्ययन गर्न पाउने व्यवस्था गरिसकेको छ । एसइई र कक्षा ११ का विद्यार्थीका लागि भने आन्तरिक मूल्यांकनकै आधारमा माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतवार ०८:१४