म कठ्यौरी मौरी (एपिस फ्लोरिया) मध्यपहाडको १२०० मिटरको उचाईसम्ममा पाइने नेपालबाट लोप हुन लागेको मौरी हुँ । म तराई, चुरे, मध्यपहाडको सानो सानो बोटबिरुवामा बस्ने गर्थे । तर बिस्तारै चुरे, मध्यपहाड बिनासको कारण हाम्रो बासस्थान लोप हुँदै जानुले अब म नेपालबाट लोप हुने अवस्थामा छु । केहि बर्षअघि चुरे र मध्यपहाडमा हाम्रो बस्ती बाक्लो थियो, तर अब फट्टफुट्ट छौं ।
केही मनिसहरु आउँछन् फोटो खिच्छन्, यसलाई बचाउनुपर्छ भन्छन् । तर कसैले बचाउँदैनन्, कोही कोही हाम्रो खान मह खानको लागि हामी कठौरी मौरीलाई जलाइदिन्छन् । यहाँ ठूला हात्ती, बाघ, भालु आदि जनावरहरुलाई मानिसले देख्छन् र जोगाउन लागि परेका देखिन्छन् । तर हामी कठौरी मौरी जो वातावरण बचाउनमा रातदिन खटिएर काम गर्छौ त्यसबारेमा मानवले बुझ्न सकेका छैनन् । हाम्रो नाममा धेरैको चुलो बलेको छ, धेरैले नुन खाएका छन्, ती चुलो बालेका र नुन खाएका निकायले त वास्ता गरेका छैनन्, अरुको के कुरा ?
कसैले हामीलाई बचाउने नाममा चुलो बालेको र नुन खाएकाले त्यस्तो भन्नेलाई हाँसी मजाकको पात्र बनाउँछन् । त्यसकारण अब नेपाल देशबाट कठ्यौरी मौरीजस्तै अन्य मौरी प्रजाति भमरा, पुतली आदि बिनास र लोप हुने निश्चित छ । अब नेपालमा हामीलाई फोटोमा मात्र मानवले देख्नेछन् । पृथ्वी सबैको साझा घर हो भन्छन्, तर हामी कठ्यौरी मौरीको लागि पृथ्वी हाम्रो घर रहेन । हामी विनास भए पनि हाम्रो कारण कुनै समयमा मानव जातिको विनास र दुखको दिन नआओस् । सबै मानवलाई चेतना भया । सम्बन्धित निकायको आँखाले देखोस्, कानले सुनोस् । जय कीट, जय कठ्यौरी मौरी ।
प्रस्तुती : पुरमल बस्नेत
सत्यपाटी ।