सूचनाको शक्ति - The Power Of Information

        

बुङ्गलका विद्यालय सोमबारदेखि खुल्ने

फाइल तस्वीर

बझाङ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका बुङ्गल नगरपालिकाभित्रका विद्यालयहरुमा सोमबारदेखि पठनपाठन सञ्चालन गरिने भएको छ । कोरोना महामारी बढ्दै गएपछि सरकारले बन्दाबन्दी घोषणा गरेपछिा चैत्रदेखि देशभरका विद्यालयहरु बन्द भएका थिए ।

बुङ्गल नगरपालिका शिक्षा शाखा र नगरपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शनिबारबाहेक अन्य सार्वजनिक विदाको दिन पनि पढाइ सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारको पछिल्लो निर्णयसँगै अधिकांश विद्यालयहरुले वैकल्पिक माध्यममा पढाई सञ्चालन गरेको भएपनि बुङ्गल नगरपालिमा भने इन्टरनेट र सञ्चारमाध्यमको राम्रो पहुँच नभएका कारण वैकल्पिक माध्यमबाट पढाई सञ्चालन गर्न नसकिएको बुङ्गल नगरपालिका शिक्षा शाखा संयोजक धनकृण रेग्मी बताए ।

शैक्षिक सत्र लम्बिन नदिन र शिक्षण सिकाईलाई सहज बनाउन स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर सामुदायिक तथा निजी विद्यालय पूर्णरुपमा सञ्चालन गरिन लागिएको उनको भनाई छ । कोरोना महामारीकै बेला विद्यालय सञ्चालन गरिन लागेको भए पनि लामो समयपछि विद्यालयमा पढ्न पाइने भन्दै विद्यार्थीहरु खुशी भएका छन् ।

कोरोना नियन्त्रण भएपछि पढौला भनेर कुरेर बसेपछि आफ्नो पढाइ र भविष्य समेत बिग्रने भन्दै अब आफुहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पढ्नुपर्ने कक्षा १० मा अध्यनरत विद्यार्थी धनसरा बोहराले बताइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार १५:५४