सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा युरिया मल अभाव

डोटी । धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित भएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाएको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदै यसपालि गहुँ नसप्रने बताए ।

स्थानीय व्यापारी मानबहादुर धामीले कोरोना महामारीको मार खेपेका जनताले मलको पनि अभाव खेप्नुपरेको बताए । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले प्रदेशका नौ वटै जिल्लामा मल अभाव भएको स्वीकार्दै प्रदेशमा कुल एक लाख मेट्रिकटन युरिया मल आवश्यक पर्ने भए पनि आपूर्ति गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनीमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको जनाए ।

डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले ती कुनै पनि जिल्लामा मल पुगेको जानकारी नआएको बताए । डोटीमा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ ।

कृषि सामग्री कम्पनी दिपायलले कोरोना महामारीका कारण कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जवाफ दिने गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुराको मल प्रयोग गर्न सकिने जानकारी दिएको छ । अहिले बजारमा युरिया मलको अभाव भएपछि वैकल्पिक मल प्रयोग गर्न प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार १०:११