सूचनाको शक्ति - The Power Of Information

        

नेकपाप्रति बढ्दो आकर्षण : संयोजक महर

बझाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरले अहिले विरोधमा उत्रिनेहरू भविष्यमा आफैँ पछुताउने बताएका छन् । बझाङमा अनेरास्ववियु जिल्ला कमिटीलाई पूर्णता दिने विषयमा केही असन्तुष्टीहरु आएको प्रसंगलाई कोट्याउँदै संयोजक महरले संगठनका लागि योगदान नदिने र अयोग्य व्यक्ति नै बाहिरिएको बताए ।

उनले नयाँ गठित कमिटीप्रति आफुहरुको पूर्ण साथ समर्थन रहेको र संगठनमा सधैं पदमात्र ओगट्ने तर अघि नबढ्ने हो भने नेतृत्व कमजोर हुने र संगठन सिथिल बन्ने बताए । संयोजक महरले संगठनलाई दरिलो बनाउन विधि विधान अनुसार जिल्लामा एक बर्षको कार्यकाल मात्र बस्नुपर्ने र कतिपय साथीहरु चीन चार बर्षदेखि संगठनमा रहे पनि कुनै योगदान नगरेको पनि बताए ।

प्रेस संगठन नेपाल बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक महरले असन्तुष्ट पक्षहरुले सबै ठाउँमा पदमात्र ओगट्ने काम गरेको र संगठनको हितको लागि केहि नगरेको समेत संयोजक महरले बताए । साथै संयोजक महरले कोरोना भाइरसको प्रसंग जोड्दै कोरोनासँग डराउन थाल्यो भने नेपाल धेरै पछाडि पर्नेसमेत बताए ।

सरकारले महमारीमा भीडभाड नगर्न भनेको समयमा किन कार्यक्रम आयोजना गरेको भन्ने पत्रकारको प्रश्नमा संयोजक महरले आफूबाटै अब भेलाका कार्यक्रम सुरु भएको बताए । त्यस्तै उनले सरकारले राम्रो काम गर्दा गर्दै पनि सञ्चारमाध्यमले अनावश्यक आलोचना गरिरहेको आरोप लगाए ।

मिडियामा आएका समाचार जनतालाई भ्रममा पार्न केन्द्रित रहेकाले त्यस्ता समाचारको पछाडि नलाग्नका साथै सामाजिक सञ्जालमा जति आलोचना तथा विरोध भए पनि नेकपाप्रतिको जनताको आकर्षण दिन प्रतिदिन बढ्दै गएकोसमेत संयोजक महरले बताए । आफ्नो घरदैलो अभियानका क्रममा दर्जनभन्दा बढी युवाहरु नेकपामा प्रवेश गरेको समेत बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार ०८:५९