सूचनाको शक्ति - The Power Of Information

        

दसैँ सकियो, कात्तिक स्नान र आकाशदीप दान सुरु

काठमाडौं । यो वर्षको बडा दसैँ शनिबारदेखि औपचारिक रुपमा सम्पन्न भएको छ । दशमीको दिन सुरु भएको टीका जमारा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमादेखि सुरु हुने कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना शनिबारदेखि सुरु गरिँदैछ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पिपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

कात्तिक स्नान गर्नेले शनिबारदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा शनिबार स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ।

मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कात्तिक स्नान सुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको अध्यक्ष गौतमले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार ०७:५१