सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलः राजस्थानले पन्जाबलाई ७ विकेटले हरायो

काठमाडौं । इण्डीयन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई ७ विकेटले हराएको छ ।

युएईमा जारी १३ औं संस्करणको आईपिएल क्रिकेटमा राजस्थानको यो छैटौं जित हो । आबुधाबीमा गएराति पन्जाबले दिएको १ सय ८६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

राजस्थानको जितमा बेन स्टोक्सको ५० रन तथा सन्जु सामसनको ४८ रन महत्वपूर्ण रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।

यो सँगै गेल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा एक हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन् । पन्जाबलाई हराएसँगै राजस्थान आईपिएल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

१३ खेलमा १२ अंक जोडेका राजस्थान र पन्जाब दुबै टोलीको प्ले अफ्मा छनौट हुने संभावना जिवितै छ ।

आईपिएल क्रिकेटमा आज दुई खेल हुनेछन् । दुबईमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डीयन्स भिड्दा सारजहाँमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराईजर्स हैदरावादको सामना गर्नेछ । एजेन्सी

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार ०७:२४