सूचनाको शक्ति - The Power Of Information

        

बेरोजगारीको पीडा

दैनिक ४०० बढी नेपाली काम खोज्न भारततिर

फाइल तस्वीर

बाँके । केही दिनअघिसम्म जमुनाहा नाका भएर भारतबाट फर्किने नेपालीको सङ्ख्या बढी हुने गरेकोमा पछिल्लो समय यही नाका भएर भारत प्रस्थान गर्ने नेपालीहरूको सङ्ख्या बढ्न थालेको छ । दशैंको भोलिपल्टदेखि सीमामा भारत जाने नेपालीहरूको सङ्ख्या बढ्न थालेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

जमुनहाका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीका अनुसार बन्दाबन्दी सुरु भएपछि गत चैतयता असोज मसान्तसम्म ९० हजार ९११ जना जमुनाहा नाका भएर नेपाल प्रवेश गरेका छन् । यसैगरी ४४ हजार २२७ नेपालबाट भारततर्फ प्रस्थान गरेका छन् । जसमध्ये आठ हजार ८३ जना नेपाली छन् ।

लामो समयको बन्दाबन्दीका कारण घरमा आर्थिक समस्या परेपछि नजिकिँदै गरेको तिहार पर्व छोडेर आफूहरू भारत जान थालेको सल्यान बनगाड–कुपिण्डे नगरपालिका–१ देवस्थलका रामबहादुर विसीले बताए । ‘दशैँ मान्नसाथ घरपरिवार छोडेर भारत जान आएका छौँ,’ बिसीले भने, ‘घरमा बसेर चाडपर्व मनाउने अवस्था नै नभएपछि भारत जान बाध्य भएका छौँ ।’

भारतमा उपचार तथा औषधि खरिद गर्न भन्दै भारततर्फ जाने गरेका छन् । यसबाहेक भारतीय आधार कार्ड भएकालाई दुवै देशका सुरक्षा निकायले सहजै सीमामा प्रवेश गर्न दिएका छन् । पछिल्लो समय भारत जाने नेपालीलाई सीमामा भारतीय सुरक्षा निकायले पनि सामान्य व्यवहार गर्ने गरेका छन् । जमुनाहा नाका भएर दैनिक ४०० बढी नेपाली भारत जाने गर्छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार १५:४५