सूचनाको शक्ति - The Power Of Information

        

अपराध

तीन बर्षमा लुम्बिनी प्रदेशमा ४९ वटा बालविवाह

सबैभन्दा बढी प्युठान, दाङ दोस्रोमा र बाँके तेस्रोमा । नवलपरासी पश्चिम, पाल्पा र रोल्पामा शून्य ।

प्रतिकात्मक तस्वीर

बाँके । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये सबैभन्दा बढी बालविवाह प्युठान हुने गरेको छ । दोस्रो बढी बालविवाह दाङ हुने गरेको तथ्यांकले देखाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङको तीन वर्षको तथ्यांकमा प्युठानमा १९ वटा बालविवाह भएका छन् । सोही अवधिमा दाङमा १३ वटा बालविवाह भएका छन् । तर, नवलपरासी पश्चिम, पाल्पा र रोल्पामा शून्य रहेको छ ।

प्युठानमा आर्थिक वर्ष २०७४/०७५ मा १२ वटा, २०७५/०७६ मा ६ वटा र २०७६/०७७ मा १ वटा गरी १९ वटा बालविवाह भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, दाङमा आर्थिक वर्ष २०७४ ०७५ मा २ वटा, २०७५/०७६ मा ८ वटा र २०७६/०७७ मा ३ वटा बालविवाहका घटना भएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा रुपन्देही र कपिलवस्तु एउटा एउटा बालविवाह भएका छन् ।

बाँकेमा आर्थिक वर्ष २०७५/०७६ मा ६ वटा, २०७६/०७७ मा दुईवटा बालविवाह भएको छ । त्यस्तै बर्दियामा आर्थिक बर्ष २०७६/०७७ मा एउटा, गुल्मीमा आर्थिक बर्ष २०७४/०७५ मा दुईवटा, अर्घाखाँचीमा तीन वर्षमा ३ वटा र रुकुम पूर्वमा आर्थिक वर्ष २०७४/०७५ मा एउटा बालविवाह भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए । तीन वर्षको अवधिमा बालविवाह गर्नेमा १० देखि १६ वर्ष उमेर समूहका धेरै रहेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा १० देखि १६ वर्ष उमेर समूहका १० वटा, १६ देखि १८ उम्मेरका पाँचवटा र १८ देखि २० वर्षसम्म उमेरका तीनवटा विवाह भएका छन् । त्यस्तै, आर्थिक बर्ष २०७५/०७६ मा १० देखि १६ वर्ष उमेर समूहका १४ वटा, १६ देखि १८ उमेरका आठवटा बालविवाह भएको प्रवक्ता वैदवारले जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १० देखि १६ वर्ष उमेरका तीनवटा, १६ देखि १८ वर्ष उमेर समूहका ६ वटा रहेका छन् ।

लुम्बिनी प्रदेश प्रहरीले प्रदेशमा बालविवाहविरुद्धको १५ दिने अभियान शुरु गरेको छ । बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न कात्तिक १४ देखि २८ गतेसम्म अभियान सञ्चालन गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले बताएको छ । अभियानअन्तर्गत एक हजार २३१ वटा जनचेतनामुलुक कार्यक्रम गरिने प्रवक्ता वैदवारले जानकारी दिए । त्यसका लागि स्थानीय सरकार र विभिन्न संघ संस्थाहरुसँग समन्वय गरिने समेत उनले बताए ।

साथै अभियानलाई सफल बनाउन प्रहरी कार्यालय अगाडि, टोल टोल तथा बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राखिने कार्यक्रम रहेको छ । त्यस्तै, ड्युटीमा खटिएका प्रहरीले नागरिकहरुलाई प्लेकार्ड देखाउने, नागरिकहरुको बढी भिडभाड र हिँड्डुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माइकिङ गर्ने, विभिन्न सञ्चारमाध्यामबाट अभियानको जानकारी गराउने लगायतका कार्यक्रम गरिने प्रवक्ता एसएसपी वैदवारले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ०९:५७