बाँके । अनुसन्धानका अनुसार कोरोनाबाट मुक्त भएको केही हप्तासम्म पहिलेजस्तै दैनिक काममा सक्रिय भइहाल्नु हुँदैन । यसो गर्दा थकानको समस्या उत्पन्न हुन सक्छ र आउने दिनमा यो अझ जटिल बन्न सक्छ । दीर्घ कोभिड अर्थात् लामो समय कोरोना संक्रमणको असर रहिरहने अवस्था । यस विषयमा वैज्ञानिकले विभिन्न अनुसन्धान गरिरहेका छन् ।
किङ्स कलेज लन्डनले गरेको अनुसन्धानअनुसार कोरोना संक्रमण भएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिनु दीर्घ कोभिडका संकेत हुन सक्छन् । अनुसन्धानअनुसार संक्रमणको पहिलो हप्ता थकान, टाउको दुख्ने, सास लिन गाह्रो हुने, आवाज पनि भारी हुने, मांसपेशी र शरीर दुख्नेजस्ता लक्षण देखिए भने लङ कोभिड अर्थात् दीर्घ कोभिड हुने खतरा हुन्छ ।
किङ्स कलेजका अनुसन्धानकर्ताहरुका अनुसार कोरोना संक्रमण भएको ४ देखि ८ हप्तासम्म पनि सञ्चो भएन भने बिरामीलाई दीर्घ कोभिड हुने खतरा हुन्छ । यस्ता बिरामीमा कोरोना नेगेटिभ भइसकेर पनि रुघा, खोकी, सास लिन गाह्रो हुने, मांसपेशी दुख्ने र धेरै थकाइ लाग्नेजस्ता समस्या भइरहन्छ ।
४० हजार संक्रमितमा गरिएको थियो अनुसन्धान
बेलायतका वैज्ञानिकले कोरोनाबाट संक्रमित ४० हजार मानिसमा अनुसन्धान गरेका थिए । जसमा बेलायत र स्विडेनका बिरामी सहभागी थिए । तीमध्ये २० प्रतिशत संक्रमितले एक महिनासम्म पनि राम्रोसँग निको हुन नसकेको बताएका थिए ।
यस्तै १९० बिरामीमा भने ८ देखि १० हप्तासम्म लगातार कोरोनाका लक्षण देखिएको पाइयो । यसैगरी १०० जना बिरामीले संक्रमणको १० हप्तासम्म पीडा भएको बताए । अनुसन्धानकर्ताको दाबी छ, यी घटना नै लामो समयसम्म कोभिडको असर हुन्छ भन्ने कुराका प्रमाण हुन् ।
‘संक्रमणमुक्त हुनेबित्तिकै काममा सक्रिय भइहाल्नु हुँदैन’
अनुसन्धानका अनुसार कोरोनाबाट मुक्त भएको केही हप्तासम्म पहिलेजस्तै आफ्ना काममा सक्रिय भइहाल्नु हुँदैन । यसो गर्दा थकानको समस्या उत्पन्न हुन सक्छ र आउने दिनमा यो अझ जटिल बन्न सक्छ । साथै यस अवधिमा स्वस्थ र पोषिलो खानेकुरा खाने, योगासन गर्ने गर्नुपर्छ । साथै कुनै औषधि खाने गरिएको छ भने त्यो नियमित गर्न भुल्न हुँदैन ।
६४ प्रतिशत बिरामीमा महिनौं असर देखियो
कोरोना संक्रमणबाट मुक्त भइसकेका ६४ प्रतिशत मानिसमा महिनौंसम्म भाइरसका असर देखिएको पाइयो । उपचारपछि पनि उनीहरूमा सास लिन कठिन, थकान, बेचैनी र डिप्रेसनका समस्या देखिए ।
यो अनुसन्धान गर्ने अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता भन्छन्, ‘कोरोना संक्रमण भएको २ देखि ३ महिनासम्म असर देखिइरहेको पाइयो । ६४ प्रतिशत कोरोनाका बिरामी सास लिन गाह्रो हुने समस्याबाट पीडत भएको पाइयो । त्यस्तै कोरोनाबाट मुक्त ५५ प्रतिशत मानिसमा थकानको समस्या देखियो ।’
दीर्घ कोभिड के हो ? यसरी बुझौं
–दीर्घ कोभिडको वैज्ञानिक परिभाषा छैन । जुन बिरामीलाई कोरोना नेगेटिभ भइसकेर पनि महिनौं लक्षण र असर देखिइरहन्छन्, त्यही नै दीर्घ कोभिड हो ।
–दीर्घ कोभिड भएका मानिसमा पनि लक्षण अलग अलग देखिन सक्छन् । तर साझा समस्या हो– थकान । यसबाहेक यस्ता बिरामीमा सास लिन गाह्रो हुने, खोकी, जोर्नी तथा मांसपेशीको दुखाइ, सुन्न÷ देख्नमा समस्या तथा टाउको दुख्ने हुन्छ ।
–यस्ता बिरामीमा आन्द्रा, मिर्गाैला, फोक्सो र मुटुमा क्षति पुग्न सक्छ । संक्रमण मुक्त भइसकेर पनि डिप्रेसन, बेचैनीजस्ता समस्या देखिन्छन् ।
–लङ कोभिड (दीर्घ कोभिड) शब्दको प्रयोग सबैभन्दा पहिला एलिसा पेरेगो (युनिभर्सिटी लन्डनका अनुसन्धान सहयोगी) ले गत मे मा आफ्नो कोभिड–१९ अनुभव सेयर गर्ने क्रममा गरेका थिए । त्यसपछि धेरै जनाले यस्तै अनुभव गर्न थाले । (दैनिक भास्कर)
सत्यपाटी ।