सूचनाको शक्ति - The Power Of Information

        

आज ‘मोहम्मद डे’, इस्लाम धर्मावलम्बीले हर्षोल्लासपूर्वक मनाउँदै

बाँके । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वस्सल्लमको आज जन्मदिन अर्थात् ‘मोहम्मद डे’ नेपाल लगायत विश्वभर मनाइँदै छ । ‘मोहम्मद डे’ को अवसरमा इस्लाम धर्मावलम्बीहरुले आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाउँदैछन् । आज इस्लाम धर्मावलम्बी बस्तीहरुमा हर्षोल्लास छाएको छ ।

‘मोहम्मद डे’को लागि आज झिलीमिली, ध्वजा पताका लगाई बेलुन, दिपावली बत्तीसहित मुस्लिम धर्मवालम्बी बस्तीहरु सिंगारिएको छ । मुस्लिम धर्मावलम्बीहरुको आफनै पात्रो हुन्छ जसलाई हिजरी भन्ने गरिन्छ । हिजरी पात्रो १ सालमा १२ महिना हुन्छ । प्रत्येक महिना चन्द्रमाको आधारमा नयाँ तारिख शुरु हुन्छ ।

मुस्लिम समुदायले आफुले धार्मिकरुपमा मनाइने विभिन्न चाडपर्वहरु चन्द्रमा हेरेर तारिख यकिन गरि मनाउने हुँदा यो समुदायका लागि चन्द्रमा धेरै महत्वपूर्ण मानिएको छ । मोहम्मद डे मनाउन अल्लाह (भगवान)को आदेशसमेत भएको र स्वंयम पैगम्बर मुहम्मद (इस्लाम धर्मका प्रवर्तक)लाई करोडौं दुरुद र सलामले पनि आफु अवतारित दिन र क्रमको व्याख्या गरि ‘मोहम्मद डे’ मनाइने इस्लाम धर्मगुरुहरु बताउँछन् ।

उनीहरुका अनुसार विश्वका मुसलमानहरु धार्मिक स्थलहरुको सरसफाई र सजावट गर्ने लगायत एकै ठाउँमा भेला भई अल्लाहको आदेश मुहम्मद सल्लल्लाहो अलैह वसल्लमको जीवनी र उपदेश, मुस्लिमहरुले पालना गर्नुपर्ने हुन्छ । प्रवर्तक मोहम्मद र धार्मिक आचारसंहिताको बारेमा जानकारहरुले चर्चा परिचर्चा गरि स्मरण गराउने, गरिबहरुलाई दान दक्षिणा प्रदान गर्ने गरिन्छ । मोहम्मद दिवशले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारासमेत कायम गर्ने गर्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ०८:५४