बाँके । नेपालगन्जमा प्रहरीले १० जना ‘हाइप्रोफाइल’ जुवाडेलाई बुधबार राती पक्राउ गरेको छ । बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार नेपालगन्जको बसपार्क क्षेत्रबाट झण्डै साढे २९ लाख नगदसहित १० जना जुवाडे पक्राउ परेका हुन् ।
बुधबार राती ८ः३० बजेको नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कस्थित ४६ बर्षिय कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा २९ लाख ४८ हजार ७०० रुपैयाँसहित १० जना जुवाडे पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।
‘ठूलो मात्रामा नगद रकमसहित १० जना जुवाडेलाई हामीले पक्राउ गरेका छौं,’ प्रहरी उपरीक्षक रानाले भने । यतिठूलो परिमाणको नगदसहित बाँकेमा जुवाडे पक्राउ परेको सम्भवत यो पहिलो भएको बाँके प्रहरीको दाबी छ । पक्राउ परेकाहरु नेपालगन्ज क्षेत्रका ‘हाइप्रोफाइल’ ब्यक्तिहरु रहेको उनले पुष्टि गरेका छन् ।
हारजित हुने गरी कटपट्टी तास खेलिरहेको अवस्थामा नेपालगन्ज वडा नं. १ का रहमान मिया, वडा नं. ४ का सन्तोष थापा, नविन घिमिरे, पब्लु भण्डारी, सन्तोष वली, कृष्णबहादुर सुवेदी, वडा नं. ६ का मेघनाथ कुचबन्दिया, वडा नं. ७ का रविन राणा, वडा नं.१० बस्ने टोपबहादुर शाही र तरुण गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार दशैंको मौका छोपेर केही दिनयता नेपालगन्जको बसपार्क क्षेत्रमा जुवा चल्दै आएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १० जना जुवाडेलाई नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानूनी कारबाही हुने प्रहरीले जनाएको छ ।
सत्यपाटी ।