सूचनाको शक्ति - The Power Of Information

        

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुंगा । ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई सख्त घाइते बनाउने मोलुङ गाउँपालिका ७, पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए ।

बन्दुकको छर्रा लागेर फुरीमाया सख्त घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो । दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन सुरु गरेका छ । अहिलेसम्म १६ हजार २७५ रुपैयाँ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ११:२७