सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेको शुभकामना आदानप्रदान

बाँके । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केन्द्रले आयोजना गरेको पहिलो बैठकमा विभिन्न निर्णय गर्नुका साथै बडादशैं, दिपावली, छठ पर्व, नेपाल सम्बत् र मोहम्मद डेका अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गरिएको हो ।

केन्द्रका अध्यक्ष बलबहादुर चन्दको अध्यक्षतामा भएको बैठकमा कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पर्व मनाउन सबैलाई आग्रह गरिएको छ । संस्थाको विधान बमोजिम सदस्यता संख्या बढाउँदै लैजाने निर्णय पनि गरिएको सचिव नवीन गिरीले जानकारी दिए ।

बैठकले संस्थाको बैंक खाता सञ्चालन गर्ने निर्णय पनि गरेको छ । कार्यसमितिका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरुलाई संस्थाका अध्यक्ष चन्दले प्रमाणपत्र प्रदान गरेका थिए । केन्द्रका सल्लाहकार नेपाल बार एसोसियसनका बरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण एवम् प्रवद्र्धन गर्दै लोकतन्त्रको संस्थागत विकासका लागि संस्थाले ठोस भूमिका खेल्नुपर्नेमा जोड दिए ।

गत भदौ ११ गते गठन गरिएको केन्द्रको संयोजक चन्द, सहसंयोजक किरण आचार्य, सचिव गिरी, कोषाध्यक्ष प्रभाकर भट्टराई र सदस्यहरुमा डा.निर्माणबहादुर शाह, ई.विकल अधिकारी, केवलसिंह थारु, पुनम श्रेष्ठ, राकेशकुमार मिश्र, मिना चन्द, धनीराम थापा, रमेशकुमार विसी, सावित्री गिरी, पदमा शाही र सरिफ अहमद राई छन् । त्यस्तै सल्लाकारहरुमा श्रेष्ठ, किरणबहादुर शाह, गणेशकुमार रेग्मी, प्रल्हादबहादुर कार्की र पोषण केसी रहेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १३:२३