बझाङ । बझाङको हिमाली स्थानीय तह तथा हिमाली क्षेत्रमा पर्ने गाउँपालिकामा आँखा शिविर सुरु भएको छ । जिल्लाको साइपाल गाउँपालिकामा कार्तिक १ गते शनिबारदेखि सुरु भएको आँखा शिविरमा शनिबार आखाँमा समस्या भएका ३६ जनाको आँखाको सल्यक्रिया तथा उपचार गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, तिलगंगा आँखा अस्पताल काठमाडौं, साइपाल गाउँपालिका र जिल्ला अस्पताल बझाङको आयोजनामा सञ्चालन भएको आँखा तथा वृहत स्वास्थ्य शिविरमा अन्य भिडियो एक्सरे, हाइडोशिल लगाएतका स्वास्थ्य सेवाको समेत शिविरमा सेवा प्रधान गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा.सन्दिप ओखेडाले बताए ।
स्थानीयलाई स्वास्थ्यको सेवा सुविधा लिन तथा उपचार गराउन सदरमुकाम चैनपुर आउन एक हप्ता लाग्ने र यातायातका साधनहरु नपुगेकाले साइपाल गाउँपालिकामा आँखाको समस्या देखिएका धेरै विरामी भएका कारण स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए ।
गाउँपालिकाले असोज महिनामा गरिएको सामान्य परिक्षणमा ९२३ जनाको सामान्य जाँच तथा आँखा परिक्षण गरिएकोमा त्यहाँका जेष्ठ नागरिकहरुमा ६४३ जना भन्दा बढीमा आँखाको समस्या देखिएपछि तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक तथा डा.रिता गुरुङलगायत ९ जना चिकित्सकसहित ४० जना स्वास्थ्यकर्मीहरुको टोली उक्त ठाउँमा पुगेको छ । साथै शिविरमा आइतबार विहानसम्म १४ सयभन्दा बढी विरामीहरुरले अन्य सेवा सुविधा लिएको, १३५ जनालाई चस्मा वितरण गरेको, ३६ जनाको आँखाको अप्रेसन गरिएको शिविर टोलीमा सहभागी पत्रकार बसन्तप्रताप सिंहले बताए ।
पहिलोपटक स्थानीयस्तरमै शिविर सञ्चालन भएपछि स्थानीयहरु खुसी हुनुका साथै धेरै पैसा खर्च गरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको साइपाल गाउँपालिका काँडा घर भएका स्थानीय बमबहादुर बोहोराले बताए । विकट त्यसैमा यातायातका साधनहरु नपुगेको साइपाल गाउँपालिकामा सामान्य स्वास्थ्य उपचार गराउन पनि तथा जटिल अवस्थाको विरामीलाई उपचारको अभावमा ज्यान गुमाउनुपरेको तथा हेकप्टरमार्फत उदार गर्नुपर्ने अवस्था आउने गर्दछ । उक्त शिविर सुदूरपश्चिम प्रदेश सभामुख अर्जुनबहादुर थापाले उद्घाटन गरेका थिए ।
सत्यराज सिंह ।