सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा फल्यो ३३ करोडको सुन्तला !


दीपक शर्मा । सल्यान । सल्यानमा चालु आर्थिक वर्ष ०७४/७५ मा ३३ करोडको सुन्तला उत्पादन भएको छ । सुन्तला सुद्धृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूल वातावरण मिलेपछि यसवर्ष गतवर्षको भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि आएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यसवर्ष सल्यानमा ३३ करोड ४ लाख ३ हजार ४० बराबरको सुन्तला उत्पादन भएको छ ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष सल्यानमा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । १ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट ७ हजार ३४४ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले जानकारी दिए । गतवर्षको भन्दा ८ हेक्टर क्षेत्रफल बढीमा सुन्तला उत्पादन भएका कारण पनि गतवर्षको भन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि आएको उनको भनाइ छ ।
उनले भने, ‘किसानहरुले बोटमा लामो समयसम्म दाना राख्ने गरेका कारण सुन्तला एक वर्ष बढी फल्ने र एक वर्ष कम फल्ने गर्दछ तर सुन्तलाको उत्पादन क्षेत्र बढिरहेकाले उत्पादन प्रतिशत बढेको हो ।’ गएको वर्ष सल्यानमा २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको थियो । उत्पादित सुन्तलामध्ये करिब ७५ प्रतिशत सुन्तला जिल्लाबाहिर निकासी भएको उनले बताए । १ हजार ५४० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेकोमा यसवर्ष १ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको अधिकृत शर्माले बताए ।
उनले भने, ‘उत्पादित सुन्तलाले सोचेभन्दा राम्रो बजार पाउन थालेपछि सुन्तला खेतीतर्फ कृषहरुको मोह बढिरहेको छ । वैशाख र कात्तिकमा आएको असिना पानीले केही क्षति पुर्याएका कारण बिमा गर्न सबै किसानहरुलाई म आग्रह गर्दछु ।’ जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगन्ज, धनगडी, महेन्द्रनगर विक्री भइरहेको शर्माले बताए ।

प्रकाशित मिति : २७ पुष २०७४, बिहीबार १०:१९