सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमित बिरामीमा ‘खासै प्रभावकारी देखिएन’ रेमडिसिभिर

तर रेमडिसिभिर औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले प्रतिक्रिया दिँदै उक्त परीक्षणको आँकडा मिल्दो नदेखिने दाबी गरेको छ ।

बाँके । रेमडिसिभिर नामक औषधिको कोरोना उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा खासै कुनै सुधार ल्याउन नसकेको पाइएको छ । फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको बताएको छ ।

उक्त परीक्षणमा रेमडिसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११,००० बिरामीमा प्रयोग गरिएको थियो । ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको देखिएन ।

तर रेमडिसिभिर औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले प्रतिक्रिया दिँदै उक्त परीक्षणको आँकडा मिल्दो नदेखिने दाबी गरेको छ । सो अध्ययनबाट कुनै निष्कर्ष निकाल्न सकिनेमा पनि उसले संशय व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड उपचारका लागि लिएका औषधिमध्ये रेमडिसिभिर पनि एक थियो ।

पहिलेको परीक्षणले जगाएको थियो आशा

गत एप्रिलमा अमेरिकामा गरिएका परीक्षणमा रेमडिसिभिरमा कोरोना भाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका थिए । विश्वभरि अस्पतालहरूमा रेमडिसिभिर प्रयोग गर्दा बिरामीमा कोरोना भाइरस सङ्क्रमण भएपछि विकसित लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको थियो ।

रेमडिसिभिरको विकास इबोलाको उपचारको लागि गरिएको हो । यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ । एप्रिलको अनुसन्धान नतिजापश्चात् विश्वभरि नै अस्पतालहरूले कोभिडको उपचारमा रेमडिसिभिरको प्रयोग गर्दै आएका थिए । कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछि यसविरुद्ध प्रयोग गर्न सकिने पहिलो मध्येको औषधिको रूपमा रेमडिसिभिरको उपयोगिता पत्ता लागेको थियो ।

पछि जुन महिनामा ब्रिटेनमा गरिएको अनुसन्धानमा सस्तो र सुलभ रूपमा पाइने डेक्सामेथासन नामक स्टेरोइड औषधिले कोभिडबाट ज्यान जोगाउन सक्ने पाइएको थियो । कोभिडका कारण गम्भीर अवस्थामा पुगेका बिरामीमा अहिले डेक्सामेथासनको धेरै प्रयोग हुने गरेको र यसले धेरैको ज्यान जोगाइरहेको बताइन्छ । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार ११:२६