काठमाडौं । अझैसम्म पनि देशका ४० वटा गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेट पहुँच पुगेका छैनन् । सुदूरपश्चिमको बझाङ, दार्चुला र बाजुरा, कर्णाली प्रदेशका जाजरकोट र डोल्पा, लुम्बिनी प्रदेशका पूर्वीरुकुम र पश्चिमी रोल्पाका स्थानीय तहमा यो समस्या रहँदै आएको छ ।
गण्डकी प्रदेशको पश्चिमी बागलुङ र उत्तरी गोरखा, नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाहरू वञ्चित भएका हुन् । त्यहाँको पालिकाका प्रशासनमा समेत आधुनिक सञ्चार सेवा पुग्न नसकेको गाउँपालिका महासङ्घले जनाएको छ ।
बागमती प्रदेशको दक्षिणी ललितपुर र काभ्रेको डाँडापारि क्षेत्रमा प्रदेश १ को माथिल्लो सङ्खुवासभा र उदयपुर तथा खोटाङको सुनकोसी क्षेत्रमा पनि नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाको प्रशासनिक केन्द्रहरू वञ्चित भएका छन् ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मंगलबार भर्चुअल पत्रकार सम्मेलन गरी ती जिल्लाका गाउँपालिकामा इन्टरनेट र टेलिफोनको पहुँच नपुगेको जनाएको हो । ती गाउँपालिकाको आसपासको बस्तीलाई समेत सेवा पुग्ने गरी नेपाल टेलिकमको टावर स्थापना गर्नु अत्यावश्यक भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
यस्तै २७२ स्थानीय तहमा निर्माण गरिने आधारभूत अस्पतालको काम सुरु गर्न बजेट निकासा भए पनि प्रभावकारी र एकीकृत ढङ्गले काम अघि बढाउन महासङ्घ लगायत सम्वद्ध अन्य सङ्घसंस्थासँग छलफल आवश्यक रहेको गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष श्रेष्ठले बताएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड विनियोजन गरिए पनि यसलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले देखिने गरी कार्य गर्नुपर्ने, दुुई सयवटा खाद्य भण्डारण केन्द्र र ७८ वटा थोक कृषि बजार निर्माण गर्न सङ्घीय सरकारबाट अनुदानको व्यवस्था भए पनि हालसम्म स्थानीय तहको छनोटका लागि कार्यविधि तयारी र सूचना प्रकाशन नभएको प्रति महासङ्घले आपत्ति जनाएको छ ।
सत्यपाटी ।