सूचनाको शक्ति - The Power Of Information

        

अविश्वास प्रस्ताव प्रकरण

अब के गर्लान् कर्णालीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास राखेका यमलाल कँडेल ?

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री बन्न प्रदेश सांसद यमलाल कँडेलले निक्कै कोसिस गरे । चौथो पटकको प्रयासमा उनले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव बहुमत सांसदको हस्ताक्षर जुटाएर दर्ता गरे । पूर्वएमाले समुहलाई एक बनाएर उनले असन्तुष्टिबाटै अविश्वासको प्रस्ताव दर्तासम्ममा लाने काम गरे । तर उनको त्यो प्रयास तीन दिनसम्म पनि टिकेन ।

असन्तुष्ट रहेकै माधव नेपाल समुहले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग नै गठजोड गरेपछि शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर आफु मुख्यमन्त्री बन्ने कँडेलको सपनामा ब्रेक लाग्न पुग्यो । पार्टी केन्द्रभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहबीचको त्रिपक्षिय शक्ति सन्तुलन टकराईरहेका बेला कर्णालीमा पनि पार्टीको शक्ति सन्तुलन टकराउने काम गरेको छ ।

वरिष्ठ नेता माधव नेपाल समुहलाई साथ लिएर प्रचण्ड पक्षका मुख्यमन्त्री शाहीले ओली पक्षका यमलाल कँडेलको योजना विफल बनाईदिएका छन् । यसले ओली पक्षलाई नराम्ररी धक्का लाग्न पुगेको छ । प्रचण्ड र नेपाल पक्षका नेताहरुबीच भएको सहमति कार्यान्वयन भएर गएमा अबको मन्त्रिमण्डल पूर्नगठनमा मुख्यमन्त्रीसहित ३ मन्त्री पूर्वमाओवादी, ३ मन्त्री र एक सचेतक माधव नेपाल पक्ष र २ मन्त्रीमा केपी ओली समुह रहने छन् ।

मुख्यमन्त्री शाहीले आफनो सत्ता संकट टार्न माधव नेपाल पक्षसँग तीन मन्त्री र एक दलको सचेतकमा सम्झौता गरेका छन् । सम्झौताका लागि मुख्यमन्त्री शाही, नेकपा प्रदेश सचिव मायाप्रयास शर्मा, प्रदेश सभा सदस्य विन्दमान विष्ट, केन्द्रीय सदस्य निरज आचार्य, प्रकाश ज्वाला लगायतका नेताहरुको सक्रियताले काम गरेको थियो । कर्णालीमा नेकपाका सभामुख सहित ३३ सदस्यमा ओली पक्ष १२, प्रचण्ड पक्ष १३ र वरिष्ठ नेता नेपाल पक्ष ८ सांसद थिए ।

बहुमत दलमा पुग्न १७ सांसद आवश्यक थियो । नेपाल पक्षलाई पनि साथ लिएर कँडेलले १८ सांसदको हस्ताक्षर गराएर अविश्वास दर्ता गराएका थिए । तर अन्तिममा पूर्व माओवादी धारका ३ र वरिष्ठ नेता नेपाल समुहका ७ जना गरी १० जनाले अविश्वासको प्रस्तावमा कँडेललाई साथ नदिएपछि कँडेल पक्ष अविश्वास दर्ता गराउने १८ मध्ये ८ जनामा मात्र सिमित हुन पुगे ।

उनी निकट दुई मन्त्री, प्रमुख सचेतक रहेका तर पछि विवादका कारण हटाइएका सांसद गुलावजंग शाहले कँडेललाई साथ दिए पनि ११ जनामात्र पुग्ने भएपछि कँडेललाई अविश्वास प्रस्ताव घाँडो बन्न पुगेको थियो । मुख्यमन्त्री बन्ने महत्वाकांक्षा पालेर अनेक चालवाजी रचे पनि कँडेलको योजना सफल हुन नसकेपछि कर्णालीमा ओली पक्षलाई नराम्ररी धक्का लाग्न पुगेको छ ।

अब के गर्लान् कँडेल ?

बल्लतल्ल चौथो प्रयासमा अविश्वास प्रस्ताव दर्ता गराएका कँडेलको यो पटकको प्रयास पनि खेर गएको छ । उनको यो दुस्साहसपूर्ण निर्णयका कारण कर्णालीमा वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष प्रचण्ड समुहबीचमा भएको सहमति कार्यान्वयन भए मन्त्रिमण्डलमा नेपाल समुहभन्दा पनि खुम्चिनुपर्ने अवस्था ओली समुहलाई आइलाग्नेछ । यसको असर प्रदेशमा राजनीति गरिरहेका यमलाल कँडेललाई सिधा पर्न आउनेछ ।

कँडेलले आफु मुख्यमन्त्री बन्न शुरुदेखि गरेको प्रयास सफल नभए पनि आफ्नो लागि यो बीचमा मन्त्रिपरिषद्बाट निर्णय नै गराएर गाडी लगायतका सेवा सुविधा लिँदै आएका थिए । तर पछि महालेखाले अवैधानिक हुने ठहर गरेपछि एक महिनाअघि मात्रै उनले गाडी फिर्ता गरे । त्यक्तिमात्र होइन, उनले मुख्यमन्त्री शाही भए पनि सरकारमा आफु निकट तीन जना मन्त्रीलाई सहभागीता गराएका थिए जसमध्ये भौतिक पूर्वाधारमन्त्री बैंकिङ कसुरमा दोषी देखिएपछि बर्खास्तगीमा परेका थिए ।

अहिले पनि शाही सरकारमा कँडेलका दुई मन्त्री दल रावल र नन्दसिंह बुढा छन् । कँडेलले प्रमुख सचेतकमा आफु निकट गुलावजंग शाहलाई पहिले ब्यवस्थापन गराएका थिए । तर विवादले अहिले उनको पद गुमेको छ । विवादका कारण ओली पक्षले कर्णालीमा धक्का खान पुगेपछि विवादका विषयमा छलफल गर्न पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डले भोलिका लागि प्रदेशका मुख्यमन्त्री लगायतलाई राजधानी बोलाएका छन् ।

भोलि बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्री शाही, कँडेल, गुलावजंग शाह, प्रकाश ज्वाला लगायत पार्टी प्रदेशका पदाधिकारीलाई निम्ताइएको छ । बालुवाटारमा दुई अध्यक्षले निम्तो बाँडेपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समुहबीच भएको सहमति अब के हुन्छ ? कँडेलले अब के गर्लान् ? अहिले नेकपा कर्णालीमा छलफल हुन थालेको छ । यो घटनाले कँडेललाई भने नराम्रोसँग धक्का लाग्न पुगेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १३:२२