सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

एकै परिवारका तीन जनाको कोरोनाबाट मृत्यु, एक जना आइसीयूमा

तनहुँ । कोरोना भाइरसको सङ्क्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भिमाद नगरपालिकाको भिमाद बस्ने ९८ वर्षीय धर्मकुमार श्रेष्ठ, निजका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णुकुमारको मृत्यु भएको हो ।

धर्मकुमार राजधानीको विएण्डबी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । यसअघि शनिबार उनको माइलो छोराको कृष्णकुमारको पनि राजधानीमै उपचारको क्रममा मृत्यु भएको थियो । र साइलो छोरो विष्णु कुमारको सोमबार निधन भएको हो । एकै परिवारको तीन जनाको मृत्यु भएपछि भिमाद बजार शोकमा डुबेको छ ।

उनीहरु तीनै जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको जेठो छोरा ७७ वर्षका रामकुमार श्रेष्ठको राजधानीमै सघन कक्षमा उपचार भइराखेको मृतक धर्मकुमारका ज्वाई तथा नेकपा गण्डकी प्रदेशका सदस्य शङ्कनारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार धर्मकुमारका नौ जना परिवारमा कोरोनाको सङ्क्रमण भएको थियो । बुबा धर्मकुमारलाई चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनीहरुलाई सङ्क्रमण भएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १५:११