बाँके । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रुघाखोकी लागेर घाँटी दुख्ने समस्या भएपछि स्वाब दिएकी उनलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिँदै आएकी उपमेयर थापा मगरले कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आफू होम आइसोलेसनमै बसेको उपमेयर थापा मगरले बताइन् । आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित साथ घरमै बस्न र लक्षण देखिएमा पिसिआर परिक्षण गराउन उनले आग्रह गरेकी छन् ।
केही दिनदेखि अस्वस्थ उपमेयर थापालाई भेरी अस्पताल, नेपालगन्जमा पीसीआर जाँच गरिएको थियो । जसको रिपोर्ट पोजिटिभ आएको छ । उपमेयर थापा कोरोना कहरको सुरुदेखि नै व्यवस्थापनमा खटिएकी थिइन् । चैत १० गते नेपालगन्ज नाकाबाट भित्रिएका नौ सयलाई महेन्द्र बहुमुखी क्याम्पससम्म ल्याउन उपमेयर थापाको ठूलो भूमिका थियो ।
यद्यपि, ती व्यक्तिहरु क्याम्पसबाट भागेका थिए । त्यसपछि भारतबाट आएका नेपालीलाई दशगजामै टेन्ट टाँगेर राख्नदेखि घरसम्म पठाउन र नेपालगन्जको क्वारेन्टाइन र आइसोलेशन व्यवस्थापनमा उपमेयर थापा सक्रियतापूर्वक लागेकी थिइन् । झण्डै एक महिनादेखि अस्वस्थ रहेकी थापालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
सत्यपाटी ।